यूएईबाट नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’को औपचारिक सुरुवात
यूएई।प्रवासमा नेपाली भाषा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को युनाइटेड अरब इमिरेट्स (यूएई) बाट औपचारिक प्रकाशन सुरु भएको छ।
यूएईमा आयोजित विशेष समारोहमा नेपालका राजदूत तेजबहादुर क्षेत्री ले रिबन काटेर पत्रिकाको उद्घाटन गरे। कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटा ले गरेका थिए।


सन् २००८ मा अमेरिकाको न्यूयोर्कबाट साप्ताहिक रूपमा सुरु भएको ‘विश्व सन्देश’ समयक्रममा पाक्षिक हुँदै मासिक रूपमा प्रकाशित हुँदै आएको थियो। हाल यूएईलाई नयाँ प्रकाशन केन्द्र बनाउँदै पत्रिकाको अन्तर्राष्ट्रिय विस्तारलाई थप सुदृढ बनाइएको हो।
उद्घाटन समारोहमा राजदूत क्षेत्रीले ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्दै नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन गर्न र संरक्षण गर्न आग्रह गरे। साथै उनले भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
समारोहमा विश्व सन्देश ग्लोबलका अध्यक्ष तथा कार्यकारी प्रमुख योगेश र कार्यकारी अध्यक्ष विजयराम पौडेल विशेष अतिथिका रूपमा सहभागी थिए। योगेशले पत्रिकालाई मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिँदै भविष्यमा पुनः साप्ताहिक रूपमा प्रकाशन गर्ने लक्ष्य रहेको बताए।
कार्यकारी अध्यक्ष पौडेलले डिजिटल युगमा पनि प्रिन्ट मिडियाको विश्वसनीयता र ऐतिहासिक महत्त्व उच्च रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपालीहरूको संघर्ष, सफलता र जीवनकथालाई अभिलेख गर्ने दायित्व ‘विश्व सन्देश’ ले वहन गर्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष सापकोटाले यूएईमा रहेका नेपाली समुदायका उपलब्धि, उद्यमशीलता र सामाजिक गतिविधिलाई उजागर गर्न पत्रिकाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
करिब ८ लाख नेपाली श्रमिक तथा व्यवसायी बसोबास गरिरहेको यूएईमा ‘विश्व सन्देश’ पहिलो नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा प्रकाशनमा आएको हो। मध्यपूर्व क्षेत्रमा नेपाली भाषाको पत्रिका प्रकाशनको नयाँ अध्याय सुरु गर्दै अब यसलाई कतार, साउदी अरेबिया र कुवेत लगायतका देशहरूमा विस्तार गर्ने लक्ष्य लिइएको छ।












