भ्रष्टाचार प्रकरणमा मुछिएकी श्रद्धा श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक कल्याण मन्त्रालयको जिम्मेवारी
काठमाडौं।राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित औपचारिक समारोहमा नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।


शपथ ग्रहणसँगै राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रालयगत जिम्मेवारी पनि तोकेका छन्। जसअनुसार श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
नवनियुक्त मन्त्रीहरूमध्ये महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठ विगतमा भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण चर्चामा रहेकी व्यक्ति हुन्। काठमाडौं निवासी श्रेष्ठ नेपाल पर्यटन बोर्डमा करिब २४ वर्षदेखि कार्यरत वरिष्ठ प्रबन्धक हुन्। उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास विषयमा अध्ययन पूरा गरेकी छन् भने फुलब्राइट फेलोसमेत हुन्।
२०७१ साल चैत २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डमा भएको अनियमिततासम्बन्धी प्रकरणमा २३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा श्रद्धा श्रेष्ठ पनि प्रतिवादीका रूपमा उल्लेख थिइन्। उक्त प्रकरणमा विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणी प्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोष विक्रम थापा, लेखनाथ भुसाल र प्रदीप बस्नेतलगायत व्यक्ति पनि आरोपी बनाइएका थिए।
अख्तियारले उनीहरूविरुद्ध ६९ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको थियो। श्रद्धा श्रेष्ठको मन्त्री नियुक्तिसँगै उक्त मुद्दा र उनको विगत सार्वजनिक बहसको विषय बनेको छ।












