नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानको आग्रह :‘चुनाव नजिकिँदै छ,अब अभियानमै केन्द्रित होऊ’
रुपन्देही-प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गएसँगै नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) का वरिष्ठ उपाध्यक्ष अब्दुल खानले पार्टीका नेता तथा कार्यकर्तालाई चुनावमुखी गतिविधि तीव्र बनाउन आह्वान गरेका छन्।
शुक्रवार भैरहवामा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले फागुन २१ गते तोकिएको निर्वाचन निर्धारित समयमै हुनेमा कुनै शंका नरहेको स्पष्ट गरे।

खानले भने, “जेनजी आन्दोलनपछि गठित सरकारको मुख्य म्यान्डेट नै निर्वाचन सम्पन्न गराउनु हो। नेकपा एमालेसहित अन्य दल पनि दलदर्ता लगायतको प्रक्रिया पूरा गरेर चुनावमा सहभागिताका लागि तयार छन्। केही दिन यहाँ–त्यहाँ पर्न सक्छ, तर चुनाव निश्चित छ।
वरिष्ठ उपाध्यक्ष खानले जेनजी आन्दोलनलाई सुशासन र विकासको आन्दोलन भन्दै परिवर्तनका लागि चुनाव अपरिहार्य रहेको बताए।
उनका अनुसार, “ठूलो बलिदान दिएर परिवर्तन चाहेका जेनजी युवाहरूलाई धोका नदिइकन नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने समय आएको छ।
कार्यक्रममा उनले पार्टीभित्र एकल नेतृत्वले संगठन गतिशील हुन नसक्ने जिकिर गर्दै ‘मल्टीलिडर’ मोडेलको नेतृत्व आवश्यक भएको बताए।
उनले उदाहरण दिंदै भने,“पार्टीको कुनै कार्यक्रम गर्दा रेशमजीको मात्र फोटो नलगाउनुहोस्, स्थानीय नेताहरूको पनि फोटो राख्नुहोस्। यसले अपनत्व बढाउँछ। एकल नेतृत्व हुँदैन, पार्टी चल्दैन। मल्टीलिडर संरचना अनिवार्य छ।
खानले विकास, रोजगारी र नयाँ नेपालको अवधारणासहित पार्टी अगाडि बढिरहेको उल्लेख गर्दै सामाजिक एकता सबैभन्दा ठूलो प्राथमिकता भएको बताए।
जनताको विश्वास जित्न नसक्ने अवस्था नेतृत्वकै कमजोरी हुने भन्दै उनले आत्मआलोचना र समिक्षा आवश्यक रहेको पनि जोड दिए।
हालै रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच बढ़ेको विवादका कारण चौधरीले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल नाममा नयाँ दल दर्ता गराएको प्रसंग पनि चर्चामा रह्यो।
खानको भनाइ अनुसार, पार्टीको समावेशितामूलक चरित्र र स्पष्ट पहिचान–सम्मान नीतिले संगठनलाई नयाँ मोडतिर लैजानेछ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य आसिन गुरुङ, रामु यादव, नन्दा चौधरी, किरण गुप्ता, जिल्ला संयोजक विजय चौधरी, क्षेत्र नं. १ इन्चार्ज रामकुमार कठरिया, युवा नेता मोहिबुद्दिन अन्सारी, पारस भार, उमा शंकर धरिकार, जाहिद अली खान, बिरेन्द्र कुमार धवल, धर्मेन्द्र लोध, रमेश यादव, अजिज अहमद, कैलाश यादव, प्रवेश कुमार लोध, राजकुमार वर्मालगायत कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो।












