तेह्रथुम-कालिका आधारभूत विद्यालयलाई शैक्षिक तथा अतिरिक्त सामग्री हस्तान्तरण – Sagarmathapana:: Online News Portal

तेह्रथुम-कालिका आधारभूत विद्यालयलाई शैक्षिक तथा अतिरिक्त सामग्री हस्तान्तरण

   २०८२ कार्तिक ३० गते  

काठमाडौं।तेह्रथुमको लालीगुराँस नगर पालिका स्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरू लाई खड्क बहादुर/दौमन्त कुमारी सेनेहाङ स्मृति प्रतिष्ठानले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सामग्री हस्तान्तरण गरेको छ।विद्यालयमा आयोजित समारोहमा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रमको अध्यक्षता स्व. खड्ग बहादुर सेनेहाङ तथा स्व. दौमन्त पयाङगु सेनेहाङका माइलो छोरा सष्टिका सेनेहाङले गर्नुभयो।


प्रतिष्ठानका सदस्य कमला सेनेहाङका अनुसार विद्यालयका १०६ जना विद्यार्थीलाई करिब ६० हजार बराबरका शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।साथै विद्यालयमा पुस्तकालय स्थापना गर्न ५० हजार रुपैयाँ नगद प्रदान गरिएको जानकारी दिइयो।प्रतिष्ठानले यसअघि विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ।त्यस्तै परिवारका सदस्य हरूको सहभागितामा करिब १ लाख रुपैयाँको मुख्य अक्षयकोष स्थापना गरी प्राप्त ब्याजबाट प्रत्येक वर्ष सामाजिक तथा शैक्षिक कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको प्रतिष्ठानले जनाएको छ।



विद्यालयका प्रधानाध्यापक डिल्लीराज रेग्मीले प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सह–पाठ्यक्रम गतिविधि सुदृढीकरण तथा विद्यार्थीहरूको प्रतिभा विकासमा सकारात्मक टेवा पुगेको बताए।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख माबुहाङले शैक्षिक विकासमा विद्यालय, समुदाय र दातृ संस्थाबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै भूतपूर्व लाहुरेहरूको समर्पण,अनुशासन र सेवा भावकै कारण समाजमा प्रेरणादायी कार्य सम्भव भएको बताए।

उक्त कार्यक्रममै युकेबाट आएका ‘लिजेण्ड ईस्टर्न नेपाल इन्जिनियरिङ पल्टन’ समूहले विद्यालयलाई करिब ९० हजार बराबरको साउण्ड सिस्टम, नृत्य आभूषण तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको टोली संयोजक खड्कहाङ लिम्बूले जानकारी दिए।समूहमा कमला सेनेहाङ, खड्कहाङ लिम्बू,हिमाल प्रधान,लक्ष्मी प्रधान,दिपक हमाल,मञ्जु हमाल,आनन्द पुन,डा.सुमिन्द्रा पुन,गुण गुरुङ,बेनु गुरुङ,भोज गुरुङ, गिता गुरुङलगायत १२ जना सदस्य सहभागी थिए।

विद्यालयले सहयोगी दाताहरू प्रति आभार व्यक्त गर्दै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै