नेपाल प्रज्ञा–प्रतिष्ठानमा २८औं मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न – Sagarmathapana:: Online News Portal

नेपाल प्रज्ञा–प्रतिष्ठानमा २८औं मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न

   २०८२ कार्तिक २९ गते  

काठमाडौँ।नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागद्वारा नियमित रूपमा आयोजित ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ को २८औं संस्करण शुक्रबार प्रतिष्ठानको देवकोटा सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक चेतनाथ धमलाले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यलाई संस्थागत रूपमा सबल बनाउन प्रज्ञा–प्रतिष्ठान निरन्तर सक्रिय रहेको बताए। उनले मातृभाषा संरक्षण र विकासका लागि साहित्यिक सिर्जनाको भूमिका झनै आवश्यक बन्दै गएको उल्लेख गरे।

श्रृङ्खलामा केवरत र शेर्पा भाषासम्बन्धी दुई महत्वपूर्ण शोध–कार्यपत्र प्रस्तुत गरिएका थिए। केवरत भाषाको साहित्य विश्लेषणबारे हेमन्ती केवरतले कार्यपत्र प्रस्तुत गर्दा शेर्पा भाषाको साहित्यिक विकास र वर्तमान अवस्थाबारे आचार्य नुर्बु शेर्पाले आफ्नो शोधपत्र प्रस्तुत गरे।

यससँगै तीन मातृभाषाका कविता वाचन पनि गरिएको थियो। उराँव भाषामा कुमारी सरना उराँव, शेर्पा भाषामा पासाङ माया शेर्पा तथा धिमाल भाषामा सजिना धिमालले आ–आफ्नो भाषा र संस्कृतिको सौन्दर्य झल्किने कविता वाचन गरे।

कार्यक्रमका सभापति तथा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यले देशको सांस्कृतिक पहिचान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले मातृभाषामा सिर्जनात्मक क्रियाकलाप विस्तार गर्न प्रज्ञा–प्रतिष्ठान निरन्तर अग्रसर रहेको पनि जोड दिए।

विविध भाषासम्बन्धी सिर्जना, संवाद र विमर्शले भरिएको २८औं मातृभाषा साहित्य श्रृङ्खला सभाध्यक्ष मुकारुङको धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै