हिमाल आरोहीको सुरक्षाका लागि पर्यटन बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण
काठमाडौं।नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड निरन्तर काम गरिरहेको बताएका छन् । उनले भने, “नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ ।उद्धार संघसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं ।


त्यसैगरी बोर्ड सदस्य नरेन्द्र देव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापन मात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताए ।कार्यसमितिका अर्का सदस्य ऋषि भण्डारीले हिमाली क्षेत्रहरूमा सुरक्षासँगै वातावरणीय संवेदनशीलता पनि जोडिने भएकोले यस्तो सहयोगले जिम्मेवार पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए ।
त्यसैगरी सामग्री ग्रहणपछि हिमालय उद्धार संघका अध्यक्ष डम्बर पराजुलीले नेपाल पर्यटन बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।”
कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत हिक्मत सिंह ऐर, वरिष्ठ प्रबन्धक अर्चना केसी, हिमालय उद्धार संघका सीईओ गोविन्द बस्याल, संघका अन्य पदाधिकारीहरु, बोर्डका अधिकारीहरु र पर्वतीय पर्यटनमा काम गरिरहेका व्यक्तिहरुको सहभागिता थियो ।


कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत सिद्धार्थ विश्वकर्माले सहजीकरण गरेका थिए । उक्त अवसरमा बोर्डले संघलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स ४ थान, डिसेन्डर्स ५ थान, पुली ४ थान, स्लिङ्स ५ थान, आइस स्क्रु र पिकेट्स ५ थान, बिले डिभाइस ४ थान, एङ्कर्स ४ थान, र स्लीपिङ ब्याग ५ थान हस्तान्तरण गरेको थियो ।
नेपाल पर्यटन बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ ।












