दिगो पर्वतीय पर्यटनका लागि IMTA र एभरेस्ट एलायन्स नेपालबीच सहकार्य सम्झौता – Sagarmathapana:: Online News Portal

दिगो पर्वतीय पर्यटनका लागि IMTA र एभरेस्ट एलायन्स नेपालबीच सहकार्य सम्झौता

   २०८२ कार्तिक २८ गते  

काठमाडौं।दिगो पर्वतीय पर्यटन प्रवर्द्धन,वातावरण संरक्षण तथा सांस्कृतिक आदान प्रदानलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासङ्घ (IMTA) र एभरेस्ट एलायन्स नेपाल (EAN)बीच औपचारिक सहकार्य सम्झौता भएको छ।चीनको गुइझोउ प्रान्तस्थित गुइयाङ सहरमा बुधबार आयोजित विशेष समारोहमा दुवै संस्थाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा एभरेस्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल र अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासङ्घका महासचिव हे याफेले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।पर्यटन व्यवसायीहरूका अनुसार यस सहकार्यले पर्वतीय क्षेत्रको संरक्षण तथा दिगो विकासका लागि अन्तर्राष्ट्रिय तहमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

विश्वकै पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन प्रवर्द्धन संस्था IMTA र नेपालका हिमाली क्षेत्रमा वातावरण संरक्षण तथा समृद्धिकरणमा काम गर्दै आएको EANबीचको यो सहकार्यले निम्न क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेछ–

पर्वतारोहण अभियान

साहसिक खेलकुद तथा एथलेटिक कार्यक्रम

उद्दार तथा सुरक्षा तालिम

वातावरण संरक्षण कार्य

सांस्कृतिक आदान–प्रदान सम्बन्धी कार्यक्रम

यसैगरी दुवै संस्था अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, साहसिक प्रतियोगिता, सांस्कृतिक महोत्सव तथा दिगोपन प्रवर्द्धन सम्मेलनहरूमा पनि सहकार्य गर्नेछन्।

एभरेस्ट एलायन्स नेपालका अध्यक्ष नेपालले उक्त सम्झौता “विश्वभर जिम्मेवार साहसिक पर्यटन तथा वातावरणीय संरक्षणको भविष्य निर्माणमा महत्वपूर्ण आधार बन्ने”विश्वास व्यक्त गरेका छन्।

सम्झौता ‘इन्टरनेशनल कन्फरेन्स अफ माउन्टेन टुरिज्म एण्ड आउटडोर स्पोर्ट्स’को अवसरमा सम्पन्न भएको हो।सम्मेलनमा ३० राष्ट्रका ३५० भन्दा बढी पर्यटन व्यवसायी सहभागी थिए।

यसै अवसरमा IMTA ले नेपालको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (PATA) लगायत अन्य अन्तर्राष्ट्रिय संस्थासँग पनि सहकार्य सम्झौता गरेको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य तथा NATTA अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटन क्षेत्रबारे प्रस्तुतीकरण दिएका थिए।साथै NATA, NMA र TAAN का पदाधिकारीहरूको पनि महत्वपूर्ण उपस्थिति थियो।

सम्मेलनमा नेपालकै गर्व ‘मुन्धुम ट्रेल’लाई बेस्ट हाइकिङ ट्रेल अवार्डद्वारा सम्मान गरिएको छ, जसले नेपालको साहसिक पर्यटन क्षेत्रलाई थप प्रोत्साहन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै