पर्यटन फोटो पत्रकारिता तालिम विराटनगरमा: ‘क्यामेराको लेन्सबाट पर्यटनको कथा लेख्न’ सिकाइ
क्यामेराको लेन्सबाट पर्यटनको कथा’ लेख्नेबारे पर्यटन फोटो पत्रकारिता तालिम विराटनगरमा
विराटनगर।कोशी प्रदेशको राजधानी विराटनगरमा ‘क्यामेराको लेन्सबाट पर्यटनको कथा लेख्न सिकाउने’ उद्देश्यसहित दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार संघ (एनएफपीजे) सँग सहकार्यमा सो नि:शुल्क तालिम मंगलबारदेखि सुरु गरेको हो।


कोशी प्रदेशका १४ जिल्लाबाट प्रत्येक जिल्लाबाट दुई जनाका दरले पत्रकार र फोटो पत्रकार सहभागी भएको तालिममा, तस्बिरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र मानवीय पक्षलाई पर्यटकीय दृष्टिकोणबाट प्रस्तुत गर्ने कौशल सिकाइँदैछ।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सुशिला बरालले तालिमको उद्घाटन गर्दै भनिन्,
“नेपालको पर्यटन विकासमा मिडियाको ठूलो योगदान रहँदै आएको छ। प्रविधिको विकाससँगै विश्व पर्यटन प्रवृत्ति परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा पत्रकारहरुको क्षमता अभिवृद्धिका माध्यमबाट गन्तव्य प्रबर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।

उनका अनुसार, पर्यटन बोर्डले यस्ता प्रशिक्षण सातै प्रदेशमा चरणबद्ध रूपमा सञ्चालन गरिरहेको छ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठकले पत्रकारिताको गुणस्तर सुधारमा यस्ता तालिम उपयोगी हुने बताइन्।
“पछिल्लो समय मिडियाको गुणस्तर कमजोर बन्दै गएको छ। प्रविधिलाई पछ्याउन नसक्दा हामी पछि पर्न थालेका छौं। त्यसैले यस्ता सिप विकासका तालिम निरन्तर आवश्यक छन्,” उनले भनिन्।
त्यसैगरी राष्ट्रिय फोटो पत्रकार संघ (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनसँग जोड्दै भने,
“अब नेपाललाई लेन्सबाट संसारलाई देखाउन सकेनौं भने पछि पर्छौं। एउटा तस्बिरले हजार शब्द भन्न सक्छ। त्यसैले यो तालिम पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै अघि बढाउने प्रयास हो।”
तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको महत्व र कार्यप्रक्रिया बारे जानकारी दिए।
त्यसपछि सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सिना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, महत्व, उत्कृष्ट तस्बिर खिच्ने सीप लगायतका सैद्धान्तिक तथा प्रयोगात्मक विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार संघका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए।












