‘घुमौँ रुविभ्याली’म्यूजिक भिडियो सार्वजनिक धादिङको पर्यटन प्रवर्द्धनमा नयाँ पहल
काठमाडौं।धादिङको मनमोहक रुविभ्याली क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यले तयार पारिएको म्यूजिक भिडियो ‘घुमौँ रुविभ्याली’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।पर्वतीय समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सृजना गर्ने लक्ष्यसहित स्थापना गरिएको ‘हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)’को यो पहिलो परियोजना हो।



ट्रस्टका अध्यक्ष तथा गीतका रचनाकार रामप्रसाद सापकोटाका अनुसार भिडियोले रुविभ्यालीको प्राकृतिक सौन्दर्य,सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई कथात्मक शैलीमा प्रस्तुत गरेको छ। धादिङका स्थायी बासिन्दा र पर्यटन व्यवसायी सापकोटाले काठमाडौं नजिकैको यो पदमार्गले गणेश हिमालदेखि नरसिंहधाम सम्मको आकर्षक दृश्यावलोकन गराउने बताए।
कार्यक्रमका प्रमुख अतिथि,साहित्यकार नवराज लम्सालले गीतले रुविभ्यालीको जीवनशैली,भूदृश्य र सम्भावनालाई प्रभावकारी रूपमा चित्रण गरेको उल्लेख गर्दै भने,“धादिङको वास्तविक सुन्दरता अझै छायामा थियो,अब यसलाई उजागर गर्न सबैको भूमिका आवश्यक छ।


भिडियोको निर्देशन विवेक सापकोटाले गरेका हुन् भने निर्माण अल थ्री मिडियाले गरेको हो।भिडियोमा सुधिर श्रेष्ठ र सगुन थापाको अभिनय रहेको छ। यो म्यूजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
रुविभ्याली ट्रेकिङ मार्ग गणेश हिमाल क्षेत्रकै एक आकर्षक गन्तव्य हो, जहाँ प्रकृति,संस्कृति र साहसिक अनुभव एकैसाथ भेटिन्छ।यस गीत र भिडियोमार्फत स्थानीय पर्यटनलाई नयाँ ऊर्जा मिल्ने विश्वास गरिएको छ।













