धनकुटाको कोप्चे:‘ओरेन्ज सिटी’को पुनर्जागरण,अब पर्यटक स्वागतका लागि तयार
धनकुटा।राणाकालीन सहरको ऐतिहासिक सौन्दर्य बोकेको धनकुटाको कोप्चे अहिले नयाँ पहिचानका साथ ‘ओरेन्ज सिटी’को रूपमा चम्किन थालेको छ। सामुदायिक सक्रियता, स्थानीय नेतृत्व र दिगो पर्यटनमा केन्द्रित पहलका कारण अब कोप्चे पर्यटकको स्वागतका लागि तयार भएको छ।
नेपाल पर्यटन बोर्ड, ईसिमोड, दीगो विकास, सामुदायिक होमस्टे नेटवर्क,हुसाडेक र स्मार्ट पानीको सहकार्यमा कोप्चे पुनर्जागरण अभियानले आयोजना गरेको ‘कोप्चे फेस्टिभल’ले सहरको पुनर्जीवनको सन्देश दिएको छ।


स्थानीय बासिन्दा रामबहादुर श्रेष्ठका अनुसार सरकारी कार्यालयहरू सारिएपछि कोप्चे एकछिन निस्तब्ध बनेको थियो।तर २०७८ सालदेखि सुरु भएको सामुदायिक प्रतिबद्धताले सहरले पुनः आत्मविश्वास पाएको हो।“पहिलोपटक फेस्टिभल आयोजना भएपछि समुदायले नयाँ ऊर्जा पायो,उनले भने,“त्यसपछि नगरपालिकाले पनि माथिल्लो कोप्चेलाई पुरस्कार दियो र सबै घरहरूमा सुन्तलाको रङ लगाइयो।
युवा गाइड नविन राईका अनुसार युवाहरूले पर्यटनमैत्री संरचना र स्वागत संस्कृतिको विकासमा अग्रणी भूमिका खेलेका छन्। “सहरमा अब पाहुना पर्खने माहोल छ,” उनले हाँस्दै भने।
फेस्टिभल अवलोकनका लागि आएका काठमाडौँ महानगर–५ का सदस्य शशी थापाले कोप्चे–हाडिगाउँ अनुभव आदान–प्रदान विशेष अर्थपूर्ण भएको बताए।“हाडिगाउँजस्तै कोप्चेले पनि पुरानो सभ्यता र आधुनिक विकासको सन्तुलन गर्न सक्छ,उनले भने।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सिर्जना नेपालीका अनुसार बोर्ड अब ‘क्वालिटी’–केन्द्रित दिगो पर्यटनतर्फ उन्मुख छ। उनले भनिन्, “धनकुटालाई नयाँ गन्तव्यको रूपमा अघि सार्दै हामीले लन्डनमा भएको वर्ल्ड टुरिज्म मार्टमा पनि ‘इमरसिभ डेस्टिनेसन’का रूपमा प्रस्तुत गरेका छौँ।
![]()
![]()
सिएचएनकी पुनम गुप्ताले धनकुटामा पर्यटनको सम्भावना तीव्र रूपमा बढ्दै गएको बताइन्।पहिले पर्यटक धरान आएर फर्किन्थे,अहिले धनकुटा नै गन्तव्य बन्दैछ,उनले भनिन्।
ओरेन्ज सिटी : सामूहिकता र पहिचानको नयाँ कथा
सुन्तलाको रङमा रञ्जित घरहरू, सुधारिएका बाटाघाटा, र सामुदायिक सहभागितामा आधारित योजनाहरूले कोप्चेलाई अब ‘पनर्जागृत सहर’को नमुना बनाएको छ। स्थानीय नेतृत्व, युवाको उर्जा र संस्थागत सहकार्यको संयोजनले धनकुटाको ‘ओरेन्ज सिटी’ अब देश–विदेशका पाहुनालाई खुलेर स्वागत गर्न तयार भएको सन्देश दिएको छ।












