नेपाल र चीनबीच उसु खेल विकासका लागि ३ वर्षे सम्झौता – Sagarmathapana:: Online News Portal

नेपाल र चीनबीच उसु खेल विकासका लागि ३ वर्षे सम्झौता

   २०८२ कार्तिक २० गते  

काठमाडौं–नेपाल र चीनबीच उसु खेलको विकास र विस्तारका लागि ३ वर्षे समझदारीपत्र (MoU)मा हस्ताक्षर गरिएको छ। चीनको सिचुवान प्रान्तको मियाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सलआर्ट अर्गनाइजेसनबीच उक्त सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन र सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाँङ उसु संघका महासचिव Li Qing ले हस्ताक्षर गरेका छन्।


सम्झौता कार्यक्रममा मियाँङ नगरपालिकाका उपमेयर Li Xin, मियाँङ उसु संघका उपाध्यक्ष Lan Limin र Jiang Hua समेत उपस्थित रहेका थिए।

सम्झौताअनुसार दुबै देशले उसु खेलको विकासमा आपसी सहकार्य गर्ने, प्रशिक्षक तथा खेलाडी आदानप्रदान गर्ने, र उसु खेलका इतिहास, दर्शन, प्रशिक्षण विज्ञान तथा खेलकुद चिकित्सा जस्ता विषयमा विज्ञहरूबीच ज्ञान–विनिमय गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, प्रत्येक वर्ष दुबै देशका प्रतिनिधिहरूले एकअर्काको देशमा उसु प्रशिक्षण र कार्यक्रम सञ्चालन गर्ने, छोटो अवधिका लागि उत्कृष्ट प्रशिक्षकहरू आदानप्रदान गर्ने र दीर्घकालीन प्रशिक्षणका लागि आशाजनक खेलाडीहरू छनोट गरी चीनको मियाँङ उसु संघबाट व्यावसायिक प्रशिक्षण तथा प्राविधिक सहयोग प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता तथा अन्तर्राष्ट्रिय उसु प्रतियोगिता पालैपालो दुबै देशमा आयोजना गर्ने र निर्णायक, टोली पठाउने लगायत व्यवस्थामा पनि दुबै पक्षले साझेदारी गर्ने सहमति भएको छ।

यसैगरी, उसु खेललाई खेलको रूपमा मात्र सीमित नराखी दुबै देशको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यका साथ “चिनियाँ कुङ फु रूट–सीकिंग टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर” जस्ता उसु पर्यटन कार्यक्रमहरू सञ्चालन गर्ने योजनासमेत समझदारीमा समावेश गरिएको छ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सलआर्ट अर्गनाइजेसनका सचिव राजिव महर्जनले यो सम्झौताले नेपालमा उसु खेलको विकासमा कोसेढुङ्गाको रूपमा काम गर्ने र खेल पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै