नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहयोगमा इटहरीमा निःशुल्क बरिष्टा तालिम प्रारम्भ – Sagarmathapana:: Online News Portal

नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहयोगमा इटहरीमा निःशुल्क बरिष्टा तालिम प्रारम्भ

   २०८२ कार्तिक २० गते  

इटहरी,सुनसरी।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (STP) को सहयोगमा यो तालिम सुरु गरिएको हो।

संघका अध्यक्ष तेजबहादुर गिरीले उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहयोगको प्रशंसा गर्दै भने,

“यस किसिमका तालिमहरूले स्थानीय युवालाई दक्ष बनाएर होटल व्यवसाय र पर्यटन विकासमा ठोस योगदान पुर्‍याउनेछन्।

संघका महासचिव कृष्ण पराजुलीले बरिष्टा तालिमलाई दीगो रोजगार र आत्मनिर्भर अर्थतन्त्रतर्फको कदमका रूपमा व्याख्या गर्दै सहभागीहरूलाई लगनशीलताका साथ सिप सिक्न आग्रह गरे।

नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले २५ दिने तालिमले सहभागीहरूलाई सिप हासिल र क्षमतावृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

उनले भनिन्,

“आफूले सिकेको सिपले होटल व्यवसाय र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु।”

त्यस्तै, इटहरी उपमहानगरपालिका–९ का अध्यक्ष जितेन्द्र थापाले बरिष्टा तालिमले स्थानीय युवालाई उद्यमशीलता र दीगो पर्यटन विकासमा अग्रसर गराउने बताए।

उनका अनुसार,

“हाल कफी संस्कृतिको माग बढ्दो छ। यसलाई व्यवसायिक रूपमा विस्तार गर्न यस्ता तालिमहरू महत्त्वपूर्ण आधार बन्नेछन्।”

२५ दिनसम्म चल्ने यस तालिममा सहभागीहरूले कफीका विभिन्न परिकारहरूको तयारी, प्रस्तुति र सेवा सम्बन्धी व्यावसायिक सीप सिक्नेछन्।

संघका अनुसार, यस्तो सिपमूलक तालिमले स्थानीय रोजगारी सिर्जना र पर्यटन क्षेत्रको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै