पश्चिम नेपालमा ‘जाउँ है बेगनास पोखरा’ प्रचार कार्यक्रम सुरु – Sagarmathapana:: Online News Portal

पश्चिम नेपालमा ‘जाउँ है बेगनास पोखरा’ प्रचार कार्यक्रम सुरु

   २०८२ कार्तिक २० गते  

पोखरा।होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजनामा र नेपाल पर्यटन बोर्ड तथा पोखरा भ्रमण वर्ष–२०२५ को सहयोगमा आइतबारदेखि ‘पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा’ प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिएको छ।

संघका अध्यक्ष वीरभद्र कँडेलका अनुसार बुटवल, बर्दिया, सुर्खेतलगायत क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटनसम्बद्ध ३७ सदस्यीय टोली प्रवद्र्धनात्मक यात्रामा निस्किएको हो।

कँडेलले आन्तरिक पर्यटन प्रवर्द्धन र क्षेत्रीय साझेदारी विस्तार कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए।

कार्यक्रमअन्तर्गत टोलीले आइतबार बुटवलमा स्थानीय पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेको छ। सो अवसरमा संघका सल्लाहकार तथा पोखरा भ्रमण वर्ष–२०२५ का सह–संयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रका बेगनासताल, रुपाताललगायत सात ताल रामसार सूचिमा सूचिकृत रहेको र ती क्षेत्रहरूमा ठूलो पर्यटकीय सम्भावना रहेको बताए।

थापाले बुटवलका व्यवसायीलाई पोखरा र लेखनाथ क्षेत्रका गन्तव्यहरूमा पर्यटक पठाउन आग्रह गर्दै “दुवै क्षेत्रबीचको साझेदारीले आपसी लाभ र आन्तरिक पर्यटनको सशक्त विकास हुनेछ” भने।

अध्यक्ष कँडेलले पनि पोखरा आएका पर्यटकलाई बुटवल पठाउने र बुटवल आएका पर्यटकलाई पोखरा पठाएर ‘दुवै क्षेत्र लाभान्वित हुने रणनीति’ अघि सारिएको बताए।

त्यस्तै, होटल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै “हामी बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउँदै आएका छौं,” भने। उनले रुपन्देही गौतमबुद्धको जन्मस्थल र ऐतिहासिक स्थलले भरिएको क्षेत्र भएको उल्लेख गरे।

पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै पर्यटन साझेदारीले दुवै गन्तव्य लाभान्वित हुने विश्वास व्यक्त गरे।

संघका महासचिव सुरेश लामिछानेका अनुसार तीनदिने प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत टोलीले बर्दिया हुँदै सुर्खेतसम्म पुगेर स्थानीय पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गर्नेछ।

छलफलमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै