हिमालयमा आरोही दुर्घटना : अष्ट्रेलियन पर्वतारोहीको मृत्यु, दुई इटालियन बेपत्ता – Sagarmathapana:: Online News Portal

हिमालयमा आरोही दुर्घटना : अष्ट्रेलियन पर्वतारोहीको मृत्यु, दुई इटालियन बेपत्ता

   २०८२ कार्तिक १८ गते  

काठमाडौं।नेपालको हिमालय क्षेत्रमा यो शरद ऋतुका आरोहण अभियानहरूबीच दुई छुट्टाछुट्टै घटनामा एक अष्ट्रेलियन पर्वतारोहीको मृत्यु भएको छ भने दुई इटालियन आरोही बेपत्ता भएका छन्।

पर्यटन विभागका अनुसार अष्ट्रेलियाली नागरिक चिन टर्क चानको २०२५ अक्टोबर २९ मा हिमलुङ हिमाल (७,१२६ मिटर) बाट करिब ६,१०० मिटर उचाइमा बेसक्याम्प फर्कने क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।

उनी ८K INT’L HIMLUNG EXPEDITION 2025 AUTUMN टोलीका नेतृत्वकर्ता थिए, जुन अभियान ८K एक्स्पेडिसन प्रा.लि. द्वारा सञ्चालन गरिएको थियो।

विभागले उनकाे शव उद्धार र स्वदेश फिर्ती (repatriation) कार्यका लागि सम्बन्धित कम्पनीसँग नजिकको समन्वय भइरहेको जनाएको छ।

“शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै स्व. आरोहीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं,”

पर्यटन विभागले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

यसैबीच अर्को घटनामा दुई इटालियन आरोही फार्रोनातो स्टेफानो र कापुटो आलेसान्द्रो पान्वारी हिमाल (६,८८७ मिटर) क्षेत्रमा अक्टोबर २८ देखि बेपत्ता भएका छन्।

दुवैजना इटालियन पान्पारी Q7 अभियानका सदस्य हुन्, जुन शेर्पा अल्पाइन ट्रेकिङ सर्भिस प्रा.लि. द्वारा सञ्चालन गरिएको थियो। उनीहरू भारी हिमपातका कारण क्याम्प I मा फसेका र सो दिनदेखि सम्पर्कविहीन रहेको बताइएको छ।

विभागका अनुसार उद्धार तथा खोजी कार्यका लागि सम्बन्धित संस्था, लिआजन अफिसर तथा सरोकारवालासँग लगातार समन्वय भइरहेको छ।

“उद्धार र समन्वय प्रक्रियामा विभागले सबै सम्भव प्रयास गर्दै आएको छ,”

विभागको विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै