दोलखामा हिमपहिरो : ७ जनाको मृत्यु, ४ जना बेपत्ता – Sagarmathapana:: Online News Portal

दोलखामा हिमपहिरो : ७ जनाको मृत्यु, ४ जना बेपत्ता

   २०८२ कार्तिक १७ गते  

काठमाडौं- दोलखामा गएको विनाशकारी हिमपहिरोमा परेर सात जनाको मृत्यु भएको छ। गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ रि हिमाल आरोहणका लागि गएका टोलीमाथि आइतबार बिहान साढे १० बजे हिमपहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार १५ जनाको आरोहण टोलीमध्ये ७ जनाको मृत्यु, ४ जना बेपत्ता र ४ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये ५ जना विदेशी नागरिक र २ जना नेपाली रहेका छन्।

विदेशी मृतकमध्ये ३ जना अमेरिकी, १ जना क्यानडाली र १ जना इटालियन नागरिक रहेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिएका छन्।

प्रहरीका अनुसार कात्तिक ११ गते यलुङ रि हिमाल आरोहणका लागि टोली गएको थियो। आज बिहान आरोहणको क्रममा आएको ठूलो हिमपहिरोले उनीहरूलाई बगाएको बताइएको छ।

उद्धारका लागि हेलिकप्टर परिचालनको तयारी भए पनि मौसम अत्यन्त खराब भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको र बेपत्ताको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै