बंगालको खाडीबाट आएको ‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने
काठमाडौं-बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवात आगामी दुई दिनभित्र नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस चक्रवातको प्रभाव बिहीबारदेखि शनिबार (कात्तिक १३ देखि १५ गतेसम्म) रहनेछ।
विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ कि चक्रवातको असर विशेषगरी कोशी र मधेस प्रदेशमा बढी पर्ने अनुमान गरिएको छ। ती क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको र देशभरको तापक्रम केही घट्ने अनुमान गरिएको छ।
विभागका अनुसार लगातारको वर्षाका कारण नदी तथा खोलानालाहरूको जलस्तर बढ्न सक्ने, पहिरो तथा बाढीको जोखिम उच्च हुने भएकाले विशेष गरी नदी तटीय र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
जनजीवन र यातायातमा असर पर्न सक्ने भन्दै विभागले आगामी तीन दिनसम्म अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सुरक्षाका लागि के गर्ने ?
सम्भावित जोखिम क्षेत्रबाट टाढा रहनुहोस्
बाढी वा पहिरोको सम्भावना भएका स्थानमा राति सुत्दा सजग रहनुहोस्
स्थानीय निकाय र सुरक्षाकर्मीको निर्देशन पालना गर्नुहोस्
आपतकालीन सामग्री (पानी, औषधि, टर्च, मोबाइल चार्ज आदि) तयार राख्नुहोस्












