सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, पर्यटकहरू होटलमै अलपत्र – Sagarmathapana:: Online News Portal

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, पर्यटकहरू होटलमै अलपत्र

   २०८२ कार्तिक ११ गते  

सोलुखुम्बु।सगरमाथा क्षेत्र आज बिहानैदेखि बाक्लो हिमपातले ढाकिएको छ।खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो भागमा लगातार हिउँ परिरहेको छ भने तल्लो क्षेत्र नाम्चेबजार र आसपासमा वर्षा भइरहेको छ।

हाल सगरमाथा क्षेत्रमा करिब तीन हजारभन्दा बढी विदेशी पर्यटक रहेको अनुमान गरिएको छ। सोमबार मात्र करिब ८०० पर्यटक लुक्ला पुगेका थिए। हिमपातका कारण बाटो हराउने जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालयले सबै पर्यटकलाई होटल वा बस्तीमै बस्न अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताउनुभयो, “मौसम प्रतिकूल भएकाले पर्यटकहरूलाई यात्रामा ननिस्कन र सुरक्षित स्थानमै बस्न आग्रह गरिएको छ।उहाँका अनुसार उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेस्थित अस्थायी प्रहरी चौकीमार्फत लगातार सम्पर्क भइरहेको छ र पर्यटकहरूको अवस्थाबारे जानकारी लिइँदैछ।

दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मात्र करिब दुई हजार विदेशी पर्यटक रहेका छन्। लगातारको हिमपात र वर्षाले चिसो निकै बढेको छ। खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भने, “गाउँ सेतो हिउँले ढाकिएको छ, आज बिहानदेखि निकै चिसो छ, सबैजना घरभित्रै छौँ।”

हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ। एक समय पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार अहिले सुनसान छ। स्थानीय शिक्षक कोपिला घतानी भन्छिन्, “हिउँले दृश्य सुन्दर देखिएको छ, तर दैनिकी निकै कठिन बनेको छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै