नेपाल पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक : निजी क्षेत्रसँग सहकार्यमा पर्यटक वृद्धि लक्ष्य

काठमाडौं।नेपाल पर्यटन बोर्ड (NTB) ले नेपाल भ्रमण प्रवर्द्धनका लागि नयाँ डिजिटल प्रकाशन ‘टुरिजम इन्साइट्स’ सार्वजनिक गरेको छ। पर्यटन क्षेत्रका तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको यो मासिक प्रकाशनले नीति निर्माता, निजी क्षेत्र, अनुसन्धानकर्ता र सरोकारवालालाई विश्वसनीय र तथ्यमा आधारित जानकारी उपलब्ध गराउने उद्देश्य राखेको छ।
‘पर्यटनको वर्तमान स्थिति र पुनरुत्थानका रणनीतिहरू’ शीर्षकमा आइतबार काठमाडौंमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा उक्त प्रकाशन सार्वजनिक गरिएको हो। कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, उपाध्यक्ष रामप्रसाद सापकोटा, बोर्ड सदस्यहरू, संघ–संस्थाका प्रतिनिधि र निजी क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
बोर्डका अनुसन्धान अधिकृत कविन्द्र भट्टका अनुसार, ‘टुरिजम इन्साइट्स’मा पर्यटक आगमन, मुख्य स्रोत बजार, विदेशी मुद्रा आम्दानी, प्रत्यक्ष वैदेशिक लगानी र क्षेत्रगत आगमनका ताजा तथ्यांक समावेश गरिएको छ। साथै संयुक्त राष्ट्र पर्यटन संगठन (UNWTO) र विश्व यात्रा तथा पर्यटन परिषद् (WTTC) का ताजा प्रतिवेदन र प्रवृत्तिहरू पनि समेटिएका छन्।
कार्यक्रममा बोल्दै सीईओ जोशीले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ अघि बढाउन तथ्यमा आधारित निर्णय र रणनीतिक योजनाको आवश्यकता रहेको बताए। उनले हालका चुनौतीहरूका बीच बोर्डले नेपालको सुरक्षित र आकर्षक गन्तव्यका रूपमा पुनर्स्थापना गर्न थालेका पहलहरूबारे जानकारी दिए।
उपाध्यक्ष सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा मजबुती ल्याउन र सरकारलाई पर्यटनको महत्व स्पष्ट रूपमा बुझाउनुपर्नेमा जोड दिए। बोर्ड सदस्य ऋषि भण्डारीले सरकारले पर्यटनलाई पर्याप्त प्राथमिकता नदिएको गुनासो गर्दै दिगो रणनीति आवश्यक रहेको बताए।
त्यस्तै, बोर्ड सदस्य तथा पाटाका महासचिव नरेन्द्र भट्टले संकटको समयमा दीर्घकालीन रणनीति निर्माणको जरुरत औंल्याए। नाटाका अध्यक्ष तथा बोर्ड सदस्य कुमार थपलियाले भारतलगायत प्रमुख बजारमा प्रचार–प्रसार कार्यालय खोल्ने तयारी भइरहेको बताए। उनले कानुनी अवरोधका कारण केही काम ढिलो भएको पनि जनाए।
कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटल क्षेत्रका चुनौतीहरूबारे प्रष्ट पार्दै सामूहिक प्रयास आवश्यक रहेको बताए।
त्यस्तै, पाटाका अध्यक्ष खेम लकाई, टानका अध्यक्ष सागर पाण्डे, सोटोका अध्यक्ष मानबहादुर शाही, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चका महासचिव चोपेन्द्र खड्का, पाटाका सीईओ सुरेश बुडाल, र सीएनआई पर्यटन विभागकी पम्फा धमलालगायतका प्रतिनिधिहरूले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा विश्वमाझ प्रवर्द्धन गर्न, विदेशी इन्फ्लुएन्सरहरूलाई आमन्त्रण गर्न, र सरकारसँग संयुक्त टास्कफोर्स गठन गर्न सुझाव दिएका छन्।
नेपाल पर्यटन बोर्डको यो नयाँ पहलले पर्यटन क्षेत्रको तथ्यांक व्यवस्थापनलाई संस्थागत गर्दै पर्यटन पुनरुत्थान र दीर्घकालीन विकासका लागि ठोस दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ।