काठमाडौंमा ‘गोबर गणेश’ चलचित्रको शुभमुहूर्त सम्पन्न, माघ १ गतेबाट प्रदर्शन हुने
काठमाडौं।हास्यप्रधान नेपाली चलचित्र ‘गोबर गणेश’ को मंगलबार काठमाडौंको म्हेपी मन्दिरमा विशेष पूजा गरी शुभमुहूर्त गरिएको छ। शुभमुहूर्त समारोहमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित प्रमुख कलाकारहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा क्यामेरा पूजा र नरिवल फुटाउने परम्परागत विधिपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले पहिलो दृश्यको उद्घाटन गरेका थिए भने कलाकार रवि गिरी ले क्ल्याप दिएर छायांकनको औपचारिक सुरुवात गराएका थिए।
चलचित्रको छायांकन मंगलबारबाट काठमाडौंमै सुरु भएको छ। आगामी दिनमा पोखरा लगायतका पर्यटनस्थलहरू समेत समेट्दै करिब ३५ दिनमा छायांकन सक्ने लक्ष्य राखिएको निर्देशक श्रेष्ठले जानकारी दिए।
“हामीले सानो पर्दामा देखाएको कला र सीपलाई ठूलो पर्दामा अझै राम्रोसँग प्रस्तुत गर्ने कोसिस गर्नेछौं,” निर्देशक श्रेष्ठले भने।
यो चलचित्रलाई बल्छी धुर्बे फिल्म्स ले निर्माण गर्दैछ। यसमा मुख्य अभिनेत्रीको रूपमा वर्षा सिवाकोटी देखिनेछिन् भने कलाकारहरूमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, रामप्रसाद खनाल, सन्तोष बानिया, माओत्से गुरुङ, सिता देवी तिमल्सिना, पुजन घिमिरे (पुकु) लगायतको अभिनय रहनेछ।
चलचित्रका अन्य प्राविधिक टिममा तारानाथ न्यौपाने (चिफ असिस्टेन्ट डाइरेक्टर), योगेश काजी शाह (ब्याकग्राउन्ड स्कोर), शंकर पाण्डे (प्रोडक्सन), शिवराम श्रेष्ठ (छायांकन), विपिन मल्ल (सम्पादन) रहेका छन्।
‘गोबर गणेश’ आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको छ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ भने वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्ट ले लिएको छ।












