एआईजी दानबहादुर कार्कीलाई ‘मातृभूमि हिरो’ अवार्ड
काठमाडौँ।रोटरी क्लब अफ मातृभूमि बालुवाटारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई यस वर्षको ‘मातृभूमि हिरो’ अवार्ड प्रदान गरेको छ।
क्लबको स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा रोटरी डिस्ट्रीक्ट गभर्नर विनोद कोइरालाले कार्कीलाई सम्मानपत्र र मालाले सम्मान गरेका हुन्। कार्कीलाई शान्ति सुरक्षाको संरक्षण, अपराध नियन्त्रण तथा समाजप्रति समर्पित योगदानको मूल्याङ्कन गर्दै क्लबले सम्मान गरेको हो।
रोटरी क्लब अफ मातृभूमिले हरेक वर्ष समाजमा परोपकारी सेवा, सामाजिक उत्तरदायित्व र प्रेरणादायी योगदान दिने विशिष्ट व्यक्तित्वलाई ‘मातृभूमि हिरो’ अवार्डद्वारा सम्मान गर्दै आएको छ।
सोही समारोहमा क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाई पनि इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा पहिलोपटक नेपाली प्रतिनिधिको रूपमा चयन भएकोमा विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा क्लबका पदाधिकारी, रोटरी सदस्य, विशिष्ट अतिथि तथा प्रहरी वरिष्ठ अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो।












