दुबईमा “गोरखा साँझ ३” भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको मिठाससँगै कुमा सागरको जादुमय प्रस्तुति
काठमाडौं।दुबई स्थित अल-नासर लेजर ल्याण्ड हलमा पहिलो पटक आयोजना गरिएको “गोरखा साँझ ३” सांगीतिक कार्यक्रम आइतबार साँझ भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका चर्चित तथा लोकप्रिय गायक कुमा सागर र नेवारी सांगीतिक क्षेत्रमा विश्व कीर्तिमान राख्न सफल गायक-संगीतकार रोजमान महर्जन सम्मिलित ‘ख्वप सांगीतिक समूह’ को शानदार प्रस्तुतीले दर्शकलाई मन्त्रमुग्ध बनायो।


सांगीतिक मिठास र नेपाली मौलिकताले भरिएको यो कार्यक्रममा ४ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको थियो। युएईमा पहिलोपटक प्रस्तुति दिएका गायक कुमा सागरले ‘हावाको लहर’, ‘ओ चम्पा’, ‘चमेलीको फूल’ जस्ता चर्चित गीतमार्फत दर्शकलाई झुमाए। कार्यक्रममा उनको भव्य स्वागत गर्दै हलभरि हुटिङको माहोल बनेको थियो।
गायक कुमा सागरले मञ्चबाट भने,“युएईको यो चर्को गर्मीमा नेपालीले पसिनासँगै जुन संघर्ष गरिरहेका छन्, त्यो देख्दा झन् सम्मान बढ्छ। हामी संगीतमार्फत हाम्रो संस्कृतिको पुनर्जागरणमा समर्पित छौं।”



कुमा सागर र रोज महर्जनसहित शरद देउला, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रामसुन्दर धुसुले कार्यक्रममा जीवन्त साथ दिएका थिए।
कार्यक्रमको संयोजन एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले गरेका थिए भने सहसंयोजक अनिल गुरुङ थिए। कार्यक्रमअघि डान्सर ममता राना मगर, लोक गायक मोहन खड्का, र दुबईकै काभ्य ब्याण्ड ब्याण्डले समेत प्रस्तुतिहरू दिएका थिए।
नेवा: पुच: यूएईका महासचिव कुमार बलामीले कार्यक्रमको बारेमा भने,“हामीले फेरि एक पटक प्रमाणित गर्यौं कि नेवा: पुच: यूएई सधैं आफ्नो संस्कार र संस्कृति जोगाउन कटिबद्ध छ। यो कार्यक्रम पनि त्यही निरन्तर प्रयासको सशक्त अभिव्यक्ति हो।”

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूएई अध्यक्ष विकास शाही, आईसीसी उपाध्यक्ष मनोज गोर्खालीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सफलता र सांस्कृतिक उद्देश्यप्रति सहभागी सबैप्रति आयोजकहरूले आभार प्रकट गरेका छन्।















