सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै काठमाडौंमा व्यवसायीहरुको प्रदर्शन – Sagarmathapana:: Online News Portal

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै काठमाडौंमा व्यवसायीहरुको प्रदर्शन

   २०८२ असार १९ गते  

काठमाडौं।सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्। नयाँबजार, सोरखुट्टे, बालाजु,बाइशधारा, बाइपास,माछापोखरी हुँदै जुलुस निकाल्दै उनीहरूले नयाँ बसपार्कस्थित लोत्से मल अगाडि कोणसभा गरेका थिए।

सरकारले बजेटमार्फत सुनचाँदी गहनामा २ प्रतिशत विलासिता कर र गहनामा प्रयोग हुने बहुमूल्य पत्थर तथा हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयले व्यवसाय नै संकटमा परेको व्यवसायीहरूको भनाइ छ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले अर्थमन्त्रीको “२ प्रतिशत विलासिता कर नलगाउँदा नेपाल ग्रे लिस्टमा पर्ने” भनाइलाई हास्यास्पद भन्दै खारेजको माग गरे। उनले भने, “ग्रे लिस्टमा परेको कारण विलासिता कर आवश्यक भन्ने तर्क नै हास्यास्पद छ। हाम्रो शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरियो भने अबका दिनमा थप सशक्त आन्दोलनको सामना सरकारलाई गर्नुपर्नेछ।”

नेपाल सुनचाँदी शिल्प व्यवसायी महासंघका पूर्व अध्यक्ष टंकबहादुर बराईलीले पनि सुनचाँदी कुनै विलासिता नभई नेपालीको पहिचान र धर्म-संस्कृतिसँग जोडिएको बताएका छन्। उनले भने, “यो कर तुरुन्त हटाउनु सरकारलाई खबरदारी गर्दछौं। अन्यथा सम्पूर्ण व्यवसायीहरू काठमाडौँमा उत्रिएर सरकारलाई घुँडा टेकाउन बाध्य पार्नेछौं।”

प्रदर्शनमा सहभागीहरूले “सुनचाँदीमा लगाइएको विलासिता कर खारेज गर”, “हामी विरोधमा छौँ”, “उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर” जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए। अन्य वक्ताहरूले आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको र सरकारले माग सम्बोधन नगरे अबको आन्दोलन थप सशक्त हुने चेतावनी दिए। उनीहरूले भोलि माइतीघर मण्डलामा हुने आन्दोलनमा सबैलाई सहभागी हुन आह्वान समेत गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै