हलेसी तुवाचुङ नगरपालिकाको १७औं नगरसभा- नीति–कार्यक्रम र ८० करोडको बजेट सार्वजनिक
हलेसी, खोटाङ।हलेसी तुवाचुङ नगर-पालिकाको १७औं नगरसभाको पहिलो बैठक मंगलबार ऐतिहासिक शैलीमा सम्पन्न भएको छ। ‘समृद्ध नगर, सशक्त नागरिक’ को मूल नाराका साथ भएको नगरसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बहुआयामिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।

नगर प्रमुख श्रीमती विमला राईले आगामी वर्ष नगरको समग्र विकासका लागि पानी, पर्यटन, पूर्वाधार र रोजगारीमा केन्द्रित नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नुभयो। उहाँले नगरलाई “स्थायी समृद्धि र समावेशी विकास” को मोडेलका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, नगर उपप्रमुख श्री रमेश कुमार राउतले २०८२/८३ सालका लागि रू. ८० करोड १८ लाख ८१ हजार ७ सय १९ बराबरको बजेट प्रस्ताव प्रस्तुत गर्नुभयो। बजेटले कृषि, शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, सूचना प्रविधि तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको छ।
नगरसभा बैठकमा विधायन समिति संयोजक तथा वडा नं. २ का अध्यक्ष श्री देवेन्द्र कुमार राईले आर्थिक विधेयक र विनियोजन विधेयक समेत प्रस्तुत गर्नुभएको थियो।

विपद् व्यवस्थापनमा अतुलनीय योगदान
नगरको विपद् तथा प्रकोप व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेको भन्दै इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक श्री हेमन्त राईलाई विशेष सम्मान प्रदान गरिएको छ। नगर प्रमुख र उपप्रमुखको संयुक्त उपस्थितिमा उहाँलाई सम्मानपत्र प्रदान गरिएको हो।
प्रहरी निरीक्षक राईले नगरमा आएको बाढी, डुबान, आगलागी लगायतका घटनामा समयमै उद्दार र सुरक्षा कार्य सम्पादन गर्दै धनजनको सुरक्षामा अतुलनीय योगदान पु-याउनुभएको नगर सभाले जनाएको छ।
नगरसभाले स्थानीय जनताको विश्वास जित्ने गरी कार्यक्रम कार्यान्वयन गर्ने अठोट समेत व्यक्त गरेको छ।












