इच्छाकामना गाउँपालिकाको निर्णय : फोहोर संकलनमा शुल्क नलाग्ने – Sagarmathapana:: Online News Portal

इच्छाकामना गाउँपालिकाको निर्णय : फोहोर संकलनमा शुल्क नलाग्ने

   २०८२ असार ९ गते  

चितवन–चितवनको इच्छा कामना गाउँ-पालिकाले वातावरण संरक्षण र स्वच्छताप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पालिका क्षेत्रभित्र फोहोरमैला संकलनमा अबदेखि शुल्क नलिने निर्णय गरेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि शहरी तथा ग्रामीण सबै वडाहरूमा फोहोर संकलनको सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरेको हो। यसअघि मासिक रूपमा लिइँदै आएको शुल्क अब पूर्ण रूपमा हटाइने भएको छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले यो निर्णयलाई ‘नागरिकमैत्री र वातावरणमैत्री कदम’ को रूपमा व्याख्या गर्दै भने,

“हामी स्वच्छ, हरित र स्वस्थ गाउँपालिका निर्माणतर्फ उन्मुख छौँ। फोहोर संकलनमा शुल्क नलिनु हाम्रो सामाजिक दायित्व र वातावरणीय जिम्मेवारी पनि हो।”

अध्यक्ष गुरुङका अनुसार यो कार्यक्रमसँगै फोहोरको स्रोतमै व्यवस्थापन, पुनःप्रयोग (recycle) र सचेतना अभिवृद्धिका अभियानहरू पनि सँगसँगै सञ्चालन गरिनेछन्।

यस निर्णयबाट विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दाहरूले प्रत्यक्ष लाभ पाउनेछन् भने, समग्र गाउँपालिकाको सरसफाइ अवस्था सुधारिने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै