माग्ने राजा’को फर्स्टलुक सार्वजनिक, भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शन – Sagarmathapana:: Online News Portal

माग्ने राजा’को फर्स्टलुक सार्वजनिक, भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शन

   २०८२ असार ८ गते  

काठमाडौँ।निर्देशक ऋषि लामिछाने ८ वर्षको विश्रामपछि निर्देशनमा फर्किएका छन्, नयाँ सिनेमा ‘माग्ने राजा’ मार्फत। शुक्रबार राजधानीको प्रज्ञा डबलीमा आयोजित विशेष समारोहबीच सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ।

भदौ ६ गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने ‘माग्ने राजा’ मा चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) एकदमै फरक अवतारमा देखिएका छन्। सार्वजनिक पोस्टरमध्ये एउटामा उनी धन-सम्पत्तिसहित राजकीय स्टाइलमा कुर्सीमा देखिन्छन् भने अर्को पोस्टरमा उनीसँगै वर्षा सिवाकोटी र विल्सन विक्रम राई मुख्य पात्रको रूपमा प्रस्तुत भएका छन्।

यो फिल्म हालको समाजमा युवापुस्ताले आफूलाई कसरी “राजा” ठान्ने प्रवृत्तिलाई व्यंग्यात्मक रूपमा चित्रण गर्ने निर्देशक लामिछानेले बताए।

सिनेमाका निर्माता मुनाल घिमिरे, जो हाल दाङको घोराही उपमहानगर–४ का वडाध्यक्ष पनि हुन्, यसअघि लामो समयपछि पुनः निर्माणमा फर्किएका हुन्। उनी र निर्देशक लामिछानेबीचको यो तेस्रो सहकार्य हो। यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्–श्रीमती’ जस्ता दुई सुपरहिट सिनेमामा उनीहरूले सहकार्य गरिसकेका छन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सिनेमामा माग्ने बुढासँगै वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, र मोडल पवित्रा साकी (मिस पबी) को समेत दमदार अभिनय देख्न पाइनेछ। साथै अभिनेता आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिँदैछन्।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद, र दीपक शर्मा तथा बाबुल गिरीको संगीत रहेको छ। वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

‘माग्ने राजा’ पोस्टर सार्वजनिकसँगै दर्शकमाझ उत्साह बढेको छ, अब हेर्न बाँकी छ – पर्दामा माग्ने राजा साँच्चै ‘राजा’ बन्न सक्छन् कि?

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै