मानवीय लापरबाहीले बढ्दै गएको मनसुनजन्य विपत्तको जोखिम : मुख्यमन्त्री कार्की – Sagarmathapana:: Online News Portal

मानवीय लापरबाहीले बढ्दै गएको मनसुनजन्य विपत्तको जोखिम : मुख्यमन्त्री कार्की

   २०८२ असार ६ गते  

विराटनगर—कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वातावरणीय लापरबाही र मानवजन्य क्रियाकलापले मनसुनजन्य विपत्तको जोखिम दिनप्रतिदिन बढाउँदै लगेको चेतावनी दिनुभएको छ।

शुक्रबार विराटनगरमा आयोजित “मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना” विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विकास निर्माणका नाममा वातावरणीय अध्ययनलाई बेवास्ता गर्दा त्यसको गम्भीर परिणाम विपत्तिको रुपमा देखिने गरेको बताउनुभयो।

“हामी आफैँले जलवायु परिवर्तनलाई चुनौती दिइरहेका छौं,” उहाँले भन्नुभयो, “यदि अब पनि गम्भीर भएर विपत्तिलाई नियन्त्रण गर्ने तयारी गरिएन भने केही वर्षभित्र हाम्रो क्षमताले नै त्यसलाई सम्हाल्न सक्ने अवस्था रहने छैन।”

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपत्त व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आवश्यक तयारी गर्न निर्देशन समेत दिनुभयो। “हामीले मानवीय, भौतिक तथा आर्थिक क्षतिको न्यूनतम बनाउन अधिकतम सचेतना अभियान सञ्चालन गर्नुपर्छ,” उहाँले आग्रह गर्नुभयो।

५ वर्षे रणनीति कार्यान्वयनमा : मन्त्री भण्डारी

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश सरकारले पाँच वर्षे “प्रदेश विपत्त व्यवस्थापन रणनीति कार्ययोजना” बनाइसकेको र त्यसको कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो।

“हामीले अति जोखिममा रहेका वस्तीहरुलाई स्थानान्तरण गर्ने तयारी समेत गरिरहेका छौं,” मन्त्री भण्डारीले भन्नुभयो, “संघ, जिल्ला र स्थानीय तहसँग सहकार्य गर्दै विपत्त व्यवस्थापनलाई संस्थागत बनाउँदैछौं।”

विज्ञहरुद्वारा वैज्ञानिक प्रस्तुति

कार्यक्रममा पूर्वसचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोलि” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने डीपीनेट नेपालका अध्यक्ष डा. राजु थापाले “२०८१ सालको मनसुन चित्रहरुमा” कार्यपत्र मार्फत विगतको विश्लेषण गर्नुभयो।

त्यस्तै, जल तथा मौसम विज्ञान विभाग, धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” प्रस्तुत गर्दै सम्भावित जोखिम र आवश्यक सतर्कता उपायबारे प्रस्ट पार्नुभयो।

राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी गोमा चेम्जोङले “संघीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” मा आधारित कार्यपत्र प्रस्तुत गर्नुभयो।

कोशी प्रदेशका विपद् विज्ञ राम कुमार दाहाल र यस प्रसाद सुब्बाले पनि मनसुन प्रतिकार्य योजनासम्बन्धी विश्लेषण प्रस्तुत गर्दै सरकार र नागरिक दुवैले साझा जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै