सानो संसार’ अब ओटीटी एमएसएम भिडियोमा हेर्न सकिने, घरमै बसेर पारिवारिक कथा अनुभव गर्ने मौका
काठमाडौं—नेपाली समाजको मध्यम वर्गीय जीवनशैली र सन्तानको विदेश मोहबाट उत्पन्न हुने पारिवारिक द्वन्द्वलाई विषयवस्तु बनाएको सिनेमा ‘सानो संसार’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा सार्वजनिक भएको छ।
गत वर्षको असोज ११ गतेदेखि हलमा प्रदर्शनमा आएको यो सिनेमा बक्स अफिसमा खासै सफल हुन नसके पनि दर्शक र समीक्षकबाट सशक्त प्रशंसा पाएको थियो। विशेषगरी सिनेमाले छोएको भावनात्मक र यथार्थपरक पारिवारिक कथाले दर्शकको मन जितेको थियो।
धेरै दर्शकले विभिन्न कारणले हलमा सिनेमा हेर्न नपाएको गुनासो गरिरहेका बेला, निर्माता अर्जुन कुमारले उक्त गुनासोलाई ध्यानमा राख्दै एमएसएम भिडियोमार्फत स्ट्रिमिङ सुरु गरिएको जानकारी दिएका छन्। “अब देश–विदेशमा रहेका सबै दर्शकले आफ्नै घरमै बसेर सजिलै यो सिनेमा हेर्न सक्नेछन्,” उनले बताए।
सिनेमामा चर्चित हास्य कलाकार माग्नेबुढा (केदार घिमिरे) की श्रीमती सीता देवी तिमल्सेना को मुख्य भूमिका रहेको छ। उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम जस्ता कलाकारले अभिनय गरेका छन्। सबै कलाकारले यही सिनेमाबाट नेपाली फिल्ममा डेब्यु गरेका हुन्।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा बनेको यस सिनेमाको निर्देशन सिद्धार्थ पुडार्सनीले गरेका हुन्। पुडार्सनीले यही सिनेमाबाट लेखन तथा निर्देशन यात्रा सुरु गरेका छन्। कथा लेखनमा सरिष्मा खत्री, छायांकनमा प्रवीन खड्का र सम्पादनमा रोमी तन्डुकार रहेका छन्।
सिनेमाका डिजिटल पार्टनर म्युजिक नेपाल तथा क्रिएटिभ पार्टनर टुनामुना कन्सेप्ट हुन्।












