प्रतिष्ठानमा अयोग्य व्यक्तिहरु नियुक्त गरेको भन्दै खारेजीको माग – Sagarmathapana:: Online News Portal

प्रतिष्ठानमा अयोग्य व्यक्तिहरु नियुक्त गरेको भन्दै खारेजीको माग

   २०७९ चैत्र १२ गते  

काठमाडौँ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सरकारले अयोग्य व्यक्तिहरु नियुक्त गरेको भन्दै संयुक्त संघर्ष समितिले खारेजीको माग गरेको छ । राजधानीको संवाद डबलीमा गत शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले ऐन मिचेर गरिएको नियुक्ति प्रक्रिया बदरको लागि सर्वोच्च अदालतमा रिट हालेकोसमेत जनाएको छ ।

संघर्ष समितिका संयोजक जीवन थापाले सरकारद्वारा गरिएका कुलपतिलगायतका नियुक्ति प्रचलित ऐन तथा कानून मिचेर गरेकाले त्यसलाई बदर गरी नीति र विधिअनुसार नियुक्त गर्न माग गरेका छन् । ‘नाम सिफारिस समितिले झ्यालबाट छिरेर राम्राभन्दा आफ्ना मान्छे प्रवेश गराएको छ । प्रज्ञा प्रतिष्ठानमा अयोग्य व्यक्तिहरु आएपछि हामीले सरकारसँग सूचना माग्यौं, तर सरकारले सही सूचना दिन सकेन’, उनले भने ।

संघर्ष समितिका सल्लाहकार तथा नाट्यकर्मी विजय विष्फोटले प्रचलित ऐन तथा कानूनमा नियुक्ति प्रक्रिया प्रष्ट भए पनि त्यसलाई सरकारले लत्याएको आरोप लगाए । उनले नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै जनकारी नभएको दाबी गरे । ‘नियुक्तिको मुख्य अधिकार प्रधानमन्त्रीको हो, तर उहाँलाई नै सम्बन्धित पक्षले यसबारे जनकारी नै नदिएको देखियो’, उनले भने ।

सामाजिक अभियन्ता तेजराज भूजेलले रंगकर्मी तथा कलाकार देशका गहना भएपनि राज्यले समय आएपछि वास्तविक कलाकारलाई नचिन्नु दुःखद भएको गुनासो गरे । संघर्ष समितिका सह–संयोजक किशोर अनुराग अधिकारीले समस्या आउनुको मुख्य कारण राजनीतिक नियुक्ति भएपनि ऐनमा रहेर योग्य व्यक्ति ल्याउँदा विवाद नहुने धारणा राखे । कार्यक्रममा रंगकर्मी गणेश उपाध्यायले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै