समाजसेवि भावना एरको बाल मस्तिस्कमा रहेको नारी दिवस – Sagarmathapana:: Online News Portal

समाजसेवि भावना एरको बाल मस्तिस्कमा रहेको नारी दिवस

   २०८१ फाल्गुन २४ गते  


काठमाडौं।मेरो बाल्यकालमा नारी दिवसलाई एउटा रमाइलो र उत्सवको रूपमा लिने गर्थे। विद्यालयमा ८ मार्चको दिन विशेष उत्साह र उमंगका साथ मनाइन्थ्यो। प्रत्येक वर्ष हामीले नारी दिवसको अवसरमा विद्यालयमा नारा लेखिएका ब्यानरहरू र पोस्टरहरू बनाएर र्याली गर्ने गर्थ्यौं। त्यस समयमा मलाई नारी दिवसको वास्तविक अर्थ थाहा थिएन, म केवल नारा र ब्यानरमा लेखिएका शब्दहरू बुझ्थेँ।

मेरो सम्झनामा आज पनि त्यो दृश्य जिवित छ, जब हाम्रा गाउँका आमा समुहहरू हर्षोउल्लासका साथ नारी दिवसको अवसरमा विद्यालयतर्फ आइपुग्थे। उनीहरू आफ्ना नाराहरू लेखिएका ब्यानर, झण्डा र पोस्टरहरू लिएर हाम्रो स्कूलमा पुग्थे। त्यतिबेला हामी बच्चाहरूलाई यो उत्सव निकै रमाइलो लाग्थ्यो। हामी स्कूलको प्राङ्गणमा उभिएर त्यस र्यालीलाई हेर्न र उत्सवमा सहभागी हुन पाउँदा खुशी महसुस गर्थ्यौं। यति मात्र होइन, यस अवसरमा हाम्रा आमहरू पनि एकजुट भएर नारी समानता र अधिकारका बारेमा नारा लगाउँदै आउँथ्यौं। नारी दिवसको र्यालीमा हामीले “छोरा र छोरी समान हुन्” र “नारीको अधिकारको सम्मान गरौं” जस्ता नारा लगाउने गर्थ्यौं। “यो नारा को अर्थ हाम्रा आमाहरूले कति बुझ्नु भएको थियो थाहा छैन, तर मैले अहिले बुझ्न सक्दछु।
तर त्यसको गहिरो अर्थ मैले त त्यो बेला बुझ्न सकेको थिइनँ।

आज जब म आफूलाई परिपक्व महशुस गर्छु र समाजका विभिन्न पक्षहरूलाई हेरिरहेको छु, हिजोआज नारीको स्थिति सुधारको दिशा तर्फ अघि बढिरहेको छ, यद्यपि अझै पनि समाजका धेरै क्षेत्रहरूमा महिलाहरूलाई समानता र सम्मानको पूर्ण अधिकार प्राप्त भएको छैन। नेपालमा ग्रामीण महिलाको अवस्था विशेष गरी चुनौतीपूर्ण छ। उनीहरू प्रायः परम्परागत मान्यतामा बाँधिएका छन्, जहाँ महिलाहरूको प्रमुख भूमिका घरका काम र परिवारको हेरचाह मात्र सीमित राखिएको छ। यद्यपि, ग्रामीण क्षेत्रमा महिलाको स्थिति केही वर्षअघिको तुलनामा सुधार भएको छ, अझै पनि धेरै ठाउँमा महिलाहरूको अधिकार र समानता सन्दर्भमा काम गर्नुपर्ने आवश्यकता रहेको छ।

ग्रामीण महिलाहरूलाई अझै पनि धेरै सामाजिक र सांस्कृतिक भेदभावको सामना गर्नुपर्दछ। परिवारको निर्णयमा प्रायः महिलाको विचारलाई बेवास्ता गरिन्छ र तिनीहरूलाई सामान्यतया पुरुषको अधीनमा राखिन्छ।
आजको नारी दिवसको सन्दर्भमा मैले सोचेको छु कि यो पर्व केवल महिला र पुरुषको समानता मात्र होइन, सबै समाजको जड र संस्कृति बदल्नका लागि सशक्त विचार र कडा संघर्षको प्रतीक हो। उदाहरणको रूपमा, महिलाहरू अहिले शिक्षामा, स्वास्थ्यमा, रोजगारमा, र राजनीतिक क्षेत्रमा विभिन्न स्थानमा अघि बढिरहेका छन्, जसले संकेत गर्छ कि महिलाहरूको भूमिका र अधिकारप्रति समाजको दृष्टिकोण परिवर्तन तर, महिलाको सशक्तिकरणको यो यात्रा अझै पनि अपूर्ण छ। अझै पनि हामी धेरै स्थानमा देख्छौं जहाँ महिलाहरूलाई परिवारिक र सामाजिक दायित्वहरूको भारी बोझ लगाइन्छ। महिला हिंसा, लैंगिक भेदभाव र सांस्कृतिक मान्यताले महिलाको समग्र स्थिति कष्टपूर्ण बनाउँछन्।

नारी दिवस केवल एक दिनको उत्सवको रूपमा सीमित हुँदैन, यसले महिलाका अधिकार र समानता हासिल गर्ने संघर्षको सम्झना दिलाउँछ। महिला सशक्तिकरणका लागि समग्र समाजको सहयोग र एकता आवश्यक छ। यस अवसरमा हामीले महिला अधिकार र समानता सुनिश्चित गर्नका लागि अझै बढी काम गर्ने संकल्प लिनुपर्छ। महिला र पुरुषको समान अधिकार र अवसर प्राप्त गर्नका लागि हामी सबैले मिलेर कार्य गर्नुपर्छ, ताकि समाजमा समावेशी र समान वातावरण सिर्जना गर्न सकियोस्।

(लेखिका हाल WYESHR सन्स्था को कोषाध्यक्ष हुनुहुन्छ । )

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै