EN
मेनु
Flash News

सामसङ–एनसेल सहकार्य : २जी मोबाइल साट्दा ५ हजारसम्म छुट, १२ महिनासम्म निःशुल्क प्याक

काठमाडौँ।नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको पहुँच विस्तार तथा डिजिटल कनेक्टिभिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य सम्झौता भएको छ।

सम्झौताअनुसार दुवै कम्पनीले आधुनिक स्मार्टफोन प्रविधिको प्रयोग बढाउनुका साथै पुरानो २जी मोबाइल प्रयोग गरिरहेका ग्राहकलाई ४जी सेवामा स्तरोन्नति गर्न प्रोत्साहन गर्ने योजना अघि सारेका छन्।

यस सहकार्यअन्तर्गत ग्राहकले पुरानो २जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्। यसले पुराना मोबाइल प्रयोगकर्तालाई आधुनिक प्रविधिमा प्रवेश गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले फोनको मोडेलअनुसार ९ देखि १२ महिनासम्म निःशुल्क एनसेल डेटा तथा भ्वाइस प्याक प्राप्त गर्नेछन्।

ग्राहकलाई स्मार्टफोन खरिद थप सहज बनाउन छनोट गरिएका मोडेलमा मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइनेछ।

सहकार्यको अर्को महत्त्वपूर्ण पक्ष विद्युतीय फोहोर व्यवस्थापन रहेको छ। दुवै कम्पनीले पुराना मोबाइल फोन सङ्कलन गरी तिनको जिम्मेवार पुनःप्रशोधन तथा व्यवस्थापनलाई प्रोत्साहन गर्ने पहलसमेत अघि बढाएका छन्।

यस सहकार्यले नेपालमा आधुनिक स्मार्टफोन, एआई प्रविधि तथा डिजिटल सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, २जी प्रविधिमा निर्भर प्रयोगकर्तालाई ४जी नेटवर्कमा जोड्दै डिजिटल रूपान्तरणको प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ।