EN
मेनु
Flash News

पूर्वी एसियामा रुसको हवाई शक्ति प्रदर्शन, आणविक क्षमताका दुई बमवर्षक भियतनाममा अवतरण

काठमाडौं।रुसले पूर्वी एसियामा आफ्नो रणनीतिक हवाई शक्ति प्रदर्शन गरेको छ। आणविक हतियार बोक्न सक्ने क्षमताका दुई रुसी रणनीतिक बमवर्षक विमान जापान र ताइवाननजिकबाट उड्दै भियतनामको दा नाङ विमानस्थलमा अवतरण गरेका छन्।

उपलब्ध स्याटेलाइट तस्बिरअनुसार नोभेम्बर १७ मा दुईवटा Tu-95MS रणनीतिक बमवर्षकसहित दुई सहयोगी विमान भियतनामको दा नाङ विमानस्थल पुगेका थिए। ती विमान रुसको अमुर क्षेत्रस्थित युक्रेन्का एयरबेसबाट उडेका थिए।

भियतनाम पुग्नुअघि रुसी बमवर्षकहरू जापान र ताइवाननजिकको हवाई मार्ग हुँदै अघि बढेका थिए। जापानको रक्षा मन्त्रालयका अनुसार रुसी विमानहरू जापानी हवाई क्षेत्रमा करिब तीन–तीन मिनेट प्रवेश गरेका थिए।

यस घटनाप्रति ताइवानले पनि चासो व्यक्त गरेको छ। ताइवानले रुसी विमानको गतिविधिलाई एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका लागि चुनौतीका रूपमा व्याख्या गरेको छ।

यो घटनाक्रमलाई पूर्वी एसियामा रुसको बढ्दो सैन्य सक्रियतासँग जोडेर हेरिएको छ। विश्लेषकहरूले यसलाई पछिल्लो एक दशकयताकै उल्लेखनीय रुसी हवाई शक्ति प्रदर्शनमध्ये एक मानेका छन्।

विशेषगरी चीनको शेन्झेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रस्तावित त्रिपक्षीय भेटको चर्चाका बीच रुसी बमवर्षकहरूको यो उडानलाई थप रणनीतिक महत्त्वका साथ हेरिएको छ।

यद्यपि, यस घटनाबारे रुस र भियतनामले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

पूर्वी एसियामा बढ्दो सैन्य प्रतिस्पर्धा र क्षेत्रीय सुरक्षा चासोका बीच रुसी रणनीतिक बमवर्षकहरूको भियतनाम आगमनलाई महत्त्वपूर्ण सैन्य तथा कूटनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।