काठमाडौं।विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा बालबालिकाको पोषणसँगै किसानको उत्पादनको बजार विस्तार र नेपालको दुग्ध क्षेत्रको दिगो विकासलाई जोड्ने अभियान अघि बढाइने भएको छ।
नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति र नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजनामा तथा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्यमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना हुँदैछ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३० अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ। सन् २००० देखि मनाउन थालिएको यो दिवस विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा विद्यालय दूध कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा मनाइँदै आएको छ।
यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा “Strong Bones, Strong Moves: Milk Matters for Sport and Growing Bodies!” रहेको छ।
बाल पोषण र स्वस्थ जीवनशैलीमा दूधको भूमिका
बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित आहार र पर्याप्त पोषण आवश्यक हुने भएकाले विद्यालय तहदेखि नै स्वस्थ खानपानसम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्नेमा नेपाल डेरी एसोसिएसनले जोड दिएको छ।
दूध तथा दुग्धजन्य पदार्थ प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्त्वका स्रोत भएकाले सन्तुलित आहारको महत्वपूर्ण हिस्सा बन्न सक्ने एसोसिएसनको भनाइ छ।
विश्व स्कुल दूध दिवस विद्यार्थीलाई दूध सेवन गराउने कार्यक्रम मात्र नभई पोषण शिक्षा, स्वस्थ खानपानको बानी र विद्यालय तथा समुदायमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको छ।
विश्वका विभिन्न देशमा यस अवसरमा विद्यालयमा दूध वितरण, पोषण शिक्षा, वक्तृत्व तथा चित्रकला प्रतियोगिता, किसान र विद्यार्थीबीच अन्तरक्रिया तथा डेरी उद्योग अवलोकनजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
किसानदेखि विद्यार्थीसम्म जोडिने दुग्ध मूल्य शृंखला
नेपाल कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र भएको मुलुक भएकाले विद्यालय दूध कार्यक्रमलाई बाल पोषणमा मात्र सीमित नगरी किसान, दुग्ध सहकारी, दूध संकलन केन्द्र, डेरी उद्योग र विद्यालयलाई एउटै मूल्य शृंखलामा जोड्ने माध्यमका रूपमा विकास गर्न सकिने एसोसिएसनको धारणा छ।
विद्यालय दूध कार्यक्रममार्फत किसानले उत्पादन गरेको दूधको बजार विस्तार गर्न सके किसानको उत्पादन र आम्दानीमा सहयोग पुग्ने तथा स्थानीय दुग्ध उद्योगको उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ।
एसोसिएसनका अनुसार विद्यालय दूध कार्यक्रम बाल पोषण, स्वदेशी उत्पादनको प्रवर्द्धन, किसानको बजार विस्तार र दुग्ध क्षेत्रको दिगो विकासलाई जोड्ने प्रभावकारी माध्यम बन्न सक्छ।
राष्ट्रिय विद्यालय दूध कार्यक्रम आवश्यक
नेपाल डेरी एसोसिएसनले विद्यालय तहमा दूध तथा दुग्धजन्य पदार्थको पहुँच विस्तार गर्न राष्ट्रिय विद्यालय दूध कार्यक्रम व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताउँदै आएको छ।
यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार, विद्यालय, किसान, दुग्ध सहकारी, डेरी उद्योग, शिक्षक, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य आवश्यक रहेको एसोसिएसनको भनाइ छ।
नीति, मापदण्ड, बजेट, गुणस्तर तथा अनुगमनको प्रभावकारी व्यवस्था गरी विद्यालय दूध कार्यक्रमलाई नियमित र दिगो रूपमा सञ्चालन गर्न सके बालबालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दुग्ध क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
सबै सरोकारवालालाई सहकार्यको अपिल
विश्व स्कुल दूध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण र स्वस्थ भविष्यका लागि दूध तथा दुग्धजन्य पदार्थको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न तथा विद्यालय तहमा सुरक्षित र गुणस्तरीय दूधको पहुँच विस्तार गर्न सबै सरोकारवालालाई सहकार्यका लागि अपिल गरेको छ।
एसोसिएसनले यो दिवसलाई एक दिन दूध सेवन गराउने कार्यक्रमका रूपमा मात्र नभई बालबालिकाको पोषण, किसानको उत्पादनको बजार, स्वदेशी दुग्ध उद्योगको प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।
एसोसिएसनले “विद्यालयमा दूध, बालबालिकामा पोषण; किसानको उत्पादनमा बजार, देशको अर्थतन्त्रमा योगदान” भन्ने सन्देशसहित विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक, किसान, दुग्ध सहकारी, डेरी उद्योग तथा सम्बन्धित सबै सरोकारवालामा शुभकामना व्यक्त गरेको छ।




