काठमाडौं।खोटाङका धिरेन राईले दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन्।
स्विस लिग प्रणालीमा नौ चरणमा सञ्चालन भएको प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अंक जोड्दै उपाधि हात पारे। झापाका ज्वाला लिम्बु ८ अंकसहित दोस्रो भए भने मकवानपुरका क्षितिज भण्डारीले ७ दशमलव ५ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे

![]()
समान ७ दशमलव ५ अंक भए पनि टाइब्रेकका आधारमा भक्तपुरका निकेन कुसाथा चौथो स्थानमा रहे। रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्रप्रसाद श्रेष्ठ छैटौँ भए।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ७ अंक प्राप्त गर्ने रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाशचन्द्र नेपाल शीर्ष १० मा पर्न सफल भए।

काठमाडौं महानगरपालिका–१० को आयोजनामा नयाँ बानेश्वरमा सम्पन्न प्रतियोगितामा २२० जना खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता धिरेनले २६ हजार २५० रुपैयाँ पुरस्कार प्राप्त गरे भने उपविजेता ज्वाला लिम्बुले २२ हजार ५०० रुपैयाँ पाए।
त्यस्तै, तेस्रो हुने क्षितिज भण्डारीले १८ हजार तथा चौथो हुने निकेन कुसाथाले ११ हजार २५० रुपैयाँ प्राप्त गरे। पाँचौँदेखि दशौँ स्थानसम्मका खेलाडीले जनही ७ हजार ५०० रुपैयाँ पुरस्कार पाए।


विजेता खेलाडीलाई काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्रकुमार बस्नेतलगायतले पुरस्कार प्रदान गरे।
पुरस्कार वितरण समारोहमा प्रतियोगिता निर्देशक बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाल खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। काठमाडौंमा बसोबास गर्दै आएका दोलखाका बस्नेत लामो समयदेखि नेपाली चेस खेलको विकासमा सक्रिय रहँदै आएका छन्।
काठमाडौं महानगरपालिका–१० को आयोजनामा भएको प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको थियो।




