काठमाडौं।आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, नेतृत्व र सहभागिता सुदृढ गर्ने उद्देश्यले तेस्रो एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ (निडवान) को आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसहित एशिया–प्रशान्त क्षेत्रका १५ देशका प्रतिनिधिहरू सहभागी छन्। आयोजकका अनुसार सम्मेलनमा ३३ जना विदेशी प्रतिनिधिसहित करिब ८० जनाको सहभागिता रहेको छ।
![]()


सम्मेलनमा नेपालसँगै बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, भारत, जापान, केन्या, म्यानमार, मलेसिया, मंगोलिया, पाकिस्तान, फिलिपिन्स, सामोआ, थाइल्यान्ड र टिमोर–लेस्टेका प्रतिनिधिहरू सहभागी छन्।
सम्मेलनले जलवायु न्याय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राखेको छ। साथै अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीमाथि हुने विभेद, असमानता, सामाजिक बहिष्करण र विभिन्न प्रकारका उत्पीडनविरुद्ध क्षेत्रीय रणनीति निर्माणमा जोड दिइने आयोजकले जनाएको छ।


सम्मेलनका क्रममा विभिन्न देशका अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूले आफूहरूले भोग्दै आएका विभेद र चुनौतीका अनुभव आदानप्रदान गर्नेछन्। अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रको कार्यान्वयन तथा विभिन्न देशमा उनीहरूको अवस्थाबारे पनि छलफल हुने जनाइएको छ।
निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीलाई अधिकारका लाभग्राहीका रूपमा मात्र नभई नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्ने बताइन्।


उनका अनुसार संयुक्त राष्ट्रसंघले हरेक वर्ष ५ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय आदिवासी महिला तथा किशोरी दिवसका रूपमा मनाउने आह्वान गरेपछि त्यसैको सन्दर्भमा क्षेत्रीय सम्मेलन आयोजना गरिएको हो।
“अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीलाई केवल अधिकारका लाभग्राहीका रूपमा होइन, नेतृत्वकर्ताका रूपमा स्थापित गर्न आवश्यक छ,” डा. गुरुङले भनिन्।
उनले सम्मेलन विभिन्न देशका अनुभव, सिकाइ र असल अभ्यास आदानप्रदान गर्ने तथा स्थानीयदेखि राष्ट्रिय तहसम्म अधिकारमुखी रणनीति निर्माणका लागि महत्वपूर्ण मञ्च रहेको बताइन्।
जलवायु न्यायदेखि सामाजिक समावेशीकरणसम्म
सम्मेलनमा जलवायु परिवर्तन, गरिबी, भेदभाव, सामाजिक बहिष्करण तथा सेवा र अवसरमा पहुँचको अभावजस्ता बहुआयामिक समस्याबारे छलफल हुनेछ।
आयोजकका अनुसार अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूले जलवायु परिवर्तन र सामाजिक असमानताको प्रभाव अन्य समुदायको तुलनामा थप जटिल रूपमा भोग्नुपरेको विषयलाई अधिकारको दृष्टिकोणबाट उठाइनेछ।

सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने तथा विषयगत प्यानल छलफलसमेत हुनेछन्।
सन् २०२३ बाट सुरु भएको क्षेत्रीय सम्मेलनले विभिन्न देशका अनुभव र अभ्यासलाई साझा गर्दै दीर्घकालीन क्षेत्रीय सहकार्य तथा रणनीति निर्माणमा जोड दिँदै आएको आयोजकको भनाइ छ।
यसपटकको सम्मेलनबाट स्थानीयदेखि राष्ट्रिय तहसम्म रणनीतिक पहल अघि बढाउने, क्षेत्रीय सञ्जाललाई थप सुदृढ बनाउने र अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीको नेतृत्वमा अधिकार आन्दोलनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सम्मेलन शनिबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ।


