दुबई-यूएईको राष्ट्रिय रेल सेवा इतिहाद रेलले यात्रु सेवाको विस्तार गर्दै आगामी सेप्टेम्बर ३०, २०२६ देखि दुबई- अबुधाबि रेल सेवा संचालनमा ल्याउने भएको छ। यससँगै दुबईबाट देशका विभिन्न गन्तव्यमा रेलमार्फत यात्रा गर्ने यात्रुका लागि नयाँ विकल्प थपिने भएको हो।


इतिहाद रेलका अनुसार यात्रुहरूले कम्पनीको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्। हाल यात्रु सेवामा कम्फर्ट र प्रिमियम गरी दुई श्रेणी उपलब्ध छन्। कम्फर्ट क्लासमा आरामदायी सिट, निःशुल्क वाइफाइ तथा प्रत्येक सिटमा चार्जिङ सुविधा उपलब्ध छ भने प्रिमियम क्लासमा थप लेगरूम, फराकिलो तथा रिक्लाइनिङ सिट र निःशुल्क जलपान तथा खाजाको सुविधा रहेको छ।
टिकटमा यात्रुको आवश्यकता र लचकताअनुसार सेभर, भ्यालु र फ्लेक्स गरी तीन प्रकारका विकल्प उपलब्ध छन्। सेभर टिकटमा यात्रा परिवर्तन तथा फिर्ताको सुविधा हुँदैन भने भ्यालु र फ्लेक्स टिकटमा तोकिएका सर्तअनुसार यात्रा मिति तथा समय परिवर्तन गर्न सकिने व्यवस्था छ।

दुबईको नयाँ इतिहाद रेल स्टेशन, आधिकारिक रूपमा अल यालायिस स्टेशन, सेप्टेम्बर ३०, २०२६ मा शारजाहको अल धाद स्टेशनसँगै सञ्चालनमा आउने तालिका छ। शेख मोहम्मद बिन जायद रोड (E311) नजिकै जुमेराह गल्फ इस्टेट्स क्षेत्रमा रहेको यो स्टेशन अल फुर्जान, दुबई इन्भेस्टमेन्ट पार्क र दुबई साउथ लगायतका क्षेत्रका यात्रुका लागि पहुँचयोग्य हुने अपेक्षा गरिएको छ। यसैगरि मेयदानमा अर्को इतिहाद रेल स्टेशन निर्माण गर्ने योजना पनि रहेको बताईएको छ । उक्त स्टेशन दुबई मेट्रो गोल्ड लाइनसँग जोडिने र आगामी सन् २०३२ सम्ममा सम्पन्न हुने तालिका रहेको जनाकारी दिएकोछ ।

इतिहाद रेलले यात्रु सेवाको पहिलो चरणअन्तर्गत जुन ३०, २०२६ देखि अबुधाबी–फुजैराह मार्गमा नियमित सेवा सुरु गरेको थियो। उद्घाटन यात्रामा फुजैराहबाट बिहान ५ः३४ बजे छुटेको रेल बिहान ७ः१९ बजे अबुधाबीको मोहम्मद बिन जायद सिटी स्टेशन पुगेको थियो। उक्त यात्राको अवधि करिब १ घण्टा ४५ मिनेट रहेको थियो।
सेवा सुरु हुनुअघि नै १० हजारभन्दा बढी टिकट बिक्री भएको इतिहाद रेलले जनाएको थियो। त्यसयता यात्रु सेवाको माग बढ्दै गएको र अगस्टको सुरुआतसम्म ७० हजारभन्दा बढी टिकट बिक्री भइसकेको कम्पनीले जनाएको थियो।
दुबई र अल धायद स्टेशन सञ्चालनमा आएपछि इतिहाद रेलको यात्रु नेटवर्क क्रमशः थप विस्तार हुनेछ। कम्पनीका अनुसार नोभेम्बर ३० मा लिवा र मदिनत जायद स्टेशन, डिसेम्बर ३० मा अल धफ्रा क्षेत्रका थप स्टेशन तथा मार्च ३०, २०२७ मा शारजाह स्टेशन सञ्चालनमा ल्याउने योजना छ।
यसरी चरणबद्ध रूपमा विस्तार हुँदै गएको इतिहाद रेलले यूएईका प्रमुख शहर, आवासीय क्षेत्र, आर्थिक केन्द्र तथा पर्यटकीय गन्तव्यबीच सार्वजनिक यातायातको नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।


