काठमाडौं।चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माग गरेको आवेदनको अन्तिम म्यादभित्र निर्देशक, कलाकार, अभिनेत्री तथा चलचित्र पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिले अध्यक्ष पदका लागि दाबी पेस गरेका हुन्।

![]()

मन्त्रालयले आवेदन दिने १२ जनाको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन । मन्त्रालय स्रोतका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेमा जया ओझा, भीमा मैनाली, नरेश पौडेल, नरेशकुमार केसी, निशा अधिकारी र मनिष पण्डित लगायत छन् ।
आवेदकहरूको योग्यता तथा आवश्यक मापदण्ड पूरा भए–नभएको अध्ययनपछि मात्रै अन्तिम सूची सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । केही आवेदकले आवेदन फाराम मात्र बुझाएको र आवश्यक कागजात नबुझाएको पाइएकाले प्रारम्भिक छनोटमा केही नाम बाहिरिन सक्ने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाइ छ।
![]()

आज बस्दैछ छनोट समितिको बैठक
अध्यक्ष छनोट प्रक्रिया अघि बढाउन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरेको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र वरिष्ठ चलचित्रकर्मी अशोक शर्मा सदस्य छन् ।
दरखास्त परेका आवेदकहरूको आवेदन अध्ययन तथा छनोट प्रक्रिया अघि बढाउन समितिको बैठक आज मन्त्रालयमा बस्दैछ । विगतका अभ्यास र चलचित्र क्षेत्रको वर्तमान आवश्यकतालाई समेत समेटेर अध्यक्ष छनोटका लागि कार्यविधि तथा मापदण्ड तयार पारिएको मन्त्रालयले जनाएको छ ।
![]()

यसअघि प्रारम्भिक चरणमा केही आवेदकलाई मात्र ‘सर्टलिस्ट’ गरी पाँच जनालाई अन्तर्वार्तामा बोलाउने विषयमा छलफल भएको थियो । तर, सबै आवेदकलाई समान अवसर दिनुपर्ने पक्षमा आफू रहेको समितिका सदस्य अशोक शर्माले बताएका छन् ।
‘सुरुमा पाँच जनालाई मात्र सर्टलिस्ट गर्ने कुरा पनि चलेको थियो । तर, चलचित्रकर्मीहरू अलि बढी संवेदनशील हुने भएकाले कसैलाई नबुझीकनै पन्छाइदियो भन्ने नपरोस् भनेर मैले सबैलाई अवसर दिनुपर्छ भन्ने सोच बनाएको छु,’ शर्माले भने, ‘आजको बैठकमा म सबै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाउने प्रस्ताव राख्नेछु ।’
कार्ययोजना प्रस्तुतीकरणपछि अन्तर्वार्ता
समितिका सदस्य शर्माका अनुसार अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण दिनुपर्नेछ । प्रस्तुतीकरणपछि समितिले उनीहरूको अन्तर्वार्ता लिनेछ ।
आवेदकहरूको योग्यता, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताबाट प्राप्त मूल्याङ्कनका आधारमा समितिले उपयुक्त उम्मेदवारको नाम छनोट गरी मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
मन्त्रिपरिषद्ले समितिको सिफारिसका आधारमा चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।


