काठमाडौं।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज मंगलबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा नेपालको प्रतिनिधित्व गर्न प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्।
![]()

प्रधानमन्त्री शाहले यही सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभाको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुँदैछ।
प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तन, जलवायु न्याय, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा नेपालले भोगिरहेको जलवायुजन्य विपद् मुख्य विषय बन्ने अपेक्षा गरिएको छ।नेपालले न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ।

विशेषगरी भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै नेपालले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याउने तयारी गरेको छ।
महासभामा नेपालको वातावरण संरक्षणमा रहेको योगदान, हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव तथा जलवायुजन्य जोखिममा रहेका हिमाली र कमजोर मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइनेछ।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली यसअघि नै न्युयोर्क पुगिसकेको छ।
नेपालले यस भ्रमणलाई जलवायु परिवर्तनबाट हिमाली मुलुकले भोगिरहेको जोखिमलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।


