काठमाडौँ।चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय तथा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
राजदूत चाङले नेपालका सुख–दुःखमा चीन सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो।
चीनको यो सहयोग बाढीका कारण प्रभावित बालबालिकाको शैक्षिक तथा अन्य आवश्यकतामा उपयोग गरिने बताइएको छ।


