मेनु
Flash News

आगलागीपछि भाटभटेनीको टंगाल स्टोर पुनः सञ्चालनमा

काठमाडौं।जेन–जी आन्दोलनका क्रममा २०८२ साल साउन २४ गते (अगस्ट ९, २०२५) आगजनीबाट क्षतिग्रस्त बनेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा आजदेखि पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार टंगालस्थित स्टोर सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा खुला गरिएको हो।

आगलागीबाट स्टोरमा ठूलो भौतिक क्षति भएपछि भाटभटेनीले पुनर्निर्माणको काम अघि बढाएको थियो। कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ वटा शाखामध्ये टंगालसहित १० वटा शाखा पुनः सञ्चालनमा आइसकेका छन्।

कम्पनीका अनुसार दमक र हेटौंडास्थित बाँकी दुई शाखाको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ। ती शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनर्निर्माणका क्रममा साथ दिने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

‘हाम्रा स्टोरहरू जलिरहेको दृश्य हेर्दा मनमा पीडा र आँखामा आँसु थियो। तर पनि राज्यप्रतिको आफ्नो जिम्मेवारी हामीले बिर्सेनौँ,’ गुरुङले भनेका छन्, ‘हामी खरानीबाट फेरि उठ्नेछौँ भन्ने निष्कर्षमा पुग्यौँ।

कम्पनीका अनुसार आन्दोलनका कारण ठूलो भौतिक क्षति भए पनि १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग गरिएको छैन। गत वर्षको दसैँ बोनससमेत कटौती नगरी कर्मचारीको रोजगारीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

पुनर्निर्माणका क्रममा दिनरात खटिएका कर्मचारी तथा सहयोगीप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ।

टंगाल शाखा पुनः सञ्चालनमा आएसँगै ग्राहकले भाटभटेनीमा उपलब्ध नियमित वस्तु तथा सेवाहरू पुनः प्राप्त गर्न सक्नेछन्। कम्पनीले आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेल वातावरण उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

भाटभटेनीले पुनर्निर्माण तथा पुनः सञ्चालनको प्रक्रियामा सहयोग गर्ने ग्राहक, विभिन्न संघसंस्था, शुभेच्छुक र कर्मचारीप्रति धन्यवादसमेत व्यक्त गरेको छ।