सशस्त्र प्रहरीका सई हत्या प्रकरणका मुख्य अभियुक्त गो’ली लागेर पक्राउ – Sagarmathapana:: Online News Portal

सशस्त्र प्रहरीका सई हत्या प्रकरणका मुख्य अभियुक्त गो’ली लागेर पक्राउ

   २०८३ आश्विन ४ गते  

सिरहा।करिब दुई वर्षअघि सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

भारतको बिहारस्थित मधुवनीका ३८ वर्षीय मोहम्मद कुरवान मन्सुरीलाई प्रहरीले शनिबार दिउँसो घटनास्थल नजिकैको सिरहाको कचनारीबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मन्सुरीलाई नियन्त्रणमा लिने क्रममा तीन राउन्ड गोली चलाइएको थियो। गोली लागेर उनको बायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ। उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए।

प्रहरीका अनुसार मन्सुरी नेपालबाट भारततर्फ मदिरा तस्करीमा संलग्न थिए। सई यादवलाई ठक्कर दिने भारतीय सफारी गाडीका धनीसमेत रहेका मन्सुरीले घटनाका बेला आफैं गाडी चलाएको प्रहरीको दाबी छ।

के भएको थियो घटना?

२०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा क्षेत्रमा सई यादवको कमान्डमा पाँच सदस्यीय गस्ती टोली परिचालित थियो।

बिहान करिब ३ बजेर १० मिनेटमा गस्ती टोलीले भारतीय सफारी गाडीमा मदिरा तस्करी भइरहेको देखेपछि त्यसलाई पछ्याएको थियो। सई यादव नेतृत्वको सशस्त्र प्रहरी टोली र नेपाल प्रहरीको संयुक्त टोलीले तस्करीमा प्रयोग भएको उक्त गाडीलाई नियन्त्रणमा लिन खोजेको थियो।

तर, प्रहरीका अनुसार तस्करीमा संलग्न समूहले गाडीले सई यादवलाई ठक्कर दिँदै भारततर्फ भागेको थियो। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिए पनि उनको मृत्यु भएको थियो।

४८ वर्षीय यादव सिरहाको नरहा गाउँपालिका–४ का स्थानीय बासिन्दा थिए।घटनापछि मन्सुरी अधिकांश समय भारतमै बस्दै आएको प्रहरीले जनाएको छ। उनलाई खोजी गर्ने क्रममा शनिबार प्रहरीले कचनारी क्षेत्रमा नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीका अनुसार पक्राउबाट जोगिन मन्सुरीले प्रहरीतर्फ गोली प्रहार गर्दै भाग्ने प्रयास गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै