ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिबाट सुरु, अनमोल–सुहानाको तेस्रो सहकार्य – Sagarmathapana:: Online News Portal

ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिबाट सुरु, अनमोल–सुहानाको तेस्रो सहकार्य

   २०८३ आश्विन ३ गते  

काठमाडौं।बहुप्रतीक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर ५’को नियमित छायांकन शुक्रबारदेखि सुरु भएको छ। निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार चलचित्रको २५ दिने छायांकन तालिकाअनुसार पशुपतिबाट नियमित छायांकन थालिएको हो।

यसअघि गत साउन २९ गते ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको चलचित्रको टोलीले बाजुरामा समेत छायांकन गरिसकेको छ। टोलीले बडीमालिका मन्दिर तथा खप्तड राष्ट्रिय निकुञ्ज आसपासका केही स्थानमा चलचित्रका दृश्य खिचेको थियो।

बाजुरामा प्रारम्भिक छायांकन सम्पन्न भए पनि चलचित्रको नियमित छायांकन भने पशुपतिबाट सुरु गरिएको निर्देशक झरना थापाले जानकारी दिएकी छन्।


झरना थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन्। अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा सँगै अभिनय गरेका थिए।

चलचित्रमा अनमोल र सुहानासँगै दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ।

‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना थापा करिब २५ वर्षपछि पाँचौँ संस्करणमार्फत पुनः अभिनयमा फर्किँदैछिन्। उनी चलचित्रमा पुरानै भूमिकामा देखिनेछिन् वा नयाँ चरित्रमा, निर्माण पक्षले भने खुलाएको छैन।

चलचित्रको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।

चलचित्रको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा छन् भने अनिल दाहाल र प्रकाश थापा सहायक निर्देशकका रूपमा रहेका छन्। निर्माण सहायकमा रञ्जित कोइराला छन्। कास्टिङ डिरेक्टरको जिम्मेवारी सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन्।

पोस्ट–प्रोडक्सन प्रमुखमा साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट, मेकअप तथा हेयरमा रोनिशा अधिकारी रहेका छन्।

चलचित्रको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्। निर्माण पक्षका अनुसार ‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।

‘ए मेरो हजुर’का अघिल्ला चारै शृंखलाले दर्शकमाझ राम्रो सफलता हासिल गरेका थिए। पहिलो शृंखला स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए भने दोस्रो संस्करणदेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन्। यसपटक उनी निर्देशनसँगै अभिनयमा समेत देखिने भएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै