रसुवा र नुवाकोटमा अमेरिकी सहयोगको राहत सामग्री पहिलो पटक पुग्यो
काठमाडौं ।बाढीपहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि संयुक्त राज्य अमेरिकाले उपलब्ध गराएको राहत सामग्रीको पहिलो खेप पुगेको छ ।
अमेरिकी दूतावासका अनुसार अगस्ट २९ र ३० मा रसुवा र नुवाकोटका करिब ४०० प्रभावितसम्म राहत सामग्री पुर्याइएको हो । अगस्ट २९ मा अमेरिकी दूतावासका कार्यवाहक प्रमुख स्कट अर्बमले पठाएको राहत सामग्रीमा २.५ टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल र आश्रयस्थलको भुइँमा प्रयोग गर्न ५०० थान इन्सुलेटिङ फोम सिट रहेका छन् ।



राहत सामग्री प्रभावित समुदायसम्म पुर्याउन सीआरएस नेपाल, क्यारिटास नेपाल, नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरएमए) तथा काठमाडौं र रसुवामा खटिएका रसद व्यवस्थापन टोलीले सहकार्य गरेका थिए ।
अमेरिकाले नेपाल सरकार तथा अन्य साझेदार निकायसँग समन्वय गर्दै बाढीपहिरो प्रभावितका लागि थप सहयोग जारी राख्ने जनाएको छ । नेपालका आवश्यकताका आधारमा प्रभावित नागरिकसम्म सहयोग पुर्याउन अमेरिकाले हालसम्म ३६ लाख अमेरिकी डलर बराबरको सहायता छुट्याएको जनाएको छ।












