भोटेकोशी बाढी : १२१ विदेशी पर्यटकको उद्धार – Sagarmathapana:: Online News Portal

भोटेकोशी बाढी : १२१ विदेशी पर्यटकको उद्धार

   २०८३ भाद्र १२ गते  

काठमाडौं।रसुवा, नुवाकोट, धादिङ र गोरखामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि १२१ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डले शुक्रबार अपराह्न ३ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिका, रुस र इटालीका २/२, बुल्गेरिया र स्विट्जरल्यान्डका १/१ तथा राष्ट्रियता पुष्टि नभएका ३ जना उद्धार गरिएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटकको अवस्था पहिचान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले समन्वय गरिरहेका छन्। उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको काम अझै जारी रहेको बोर्डले जनाएको छ। 

पर्यटकको आपत्कालीन सहायताका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै