नुवाकोटका बाढीपीडितका लागि आफ्नै खर्चमा राहत जुटाउँदै सर्वसाधारण – Sagarmathapana:: Online News Portal

नुवाकोटका बाढीपीडितका लागि आफ्नै खर्चमा राहत जुटाउँदै सर्वसाधारण

   २०८३ भाद्र १२ गते  

काठमाडौं।विपद्को पीडामा परेका नुवाकोटका नागरिकलाई सहयोग गर्न काठमाडौंको माइतीघरमा सर्वसाधारण आफैं अघि सरेका छन्। सरकारी तथा संस्थागत सहयोगको प्रतीक्षा नगरी उनीहरूले आफ्नै खर्चमा राहत सामग्री जुटाउँदै पीडित परिवारका लागि सहयोग अभियान सञ्चालन गरेका हुन्।


बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री उपलब्ध गराउने उद्देश्यले माइतीघरमा राहत संकलन तथा व्यवस्थापन भइरहेको छ।

आफ्नो व्यक्तिगत खर्च कटाएर समेत विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउन सर्वसाधारण सक्रिय भएपछि माइतीघरमा मानवीय सहयोगको भावनासमेत देखिएको छ। कोही खाद्यान्न लिएर पुगेका छन् भने कोही लत्ताकपडा तथा आवश्यक सामग्री लिएर अभियानमा जोडिएका छन्।


विपद्को समयमा ‘पीडितका लागि आफूले सक्ने सहयोग गरौँ’ भन्ने भावनासहित सुरु भएको यो अभियानले संकटका बेला समाजमा अझै पनि सहयोग र सहकार्यको भावना बलियो रहेको सन्देश दिएको छ।

नुवाकोटका बाढीपीडितको पीडामा मल्हम लगाउने उद्देश्यले स्वतःस्फूर्त रूपमा जुटेका सर्वसाधारणको यो प्रयासले अरूलाई पनि आफ्नो क्षमताअनुसार विपद् प्रभावितको सहयोगमा अघि बढ्न प्रेरणा दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै