नाडा अटो शो भदौ ९ देखि शो मा २०० भन्दा बढी स्टल, रोबोटदेखि ‘मेड इन नेपाल’ प्याभिलियनसम्म आकर्षण

काठमाडौं।नेपालको अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनीका रूपमा परिचित १८औं नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ५०औं स्थापना वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको प्रदर्शनीले सुस्ताएको नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउने तथा विद्युतीय सवारीसाधनसहित नयाँ प्रविधिको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
![]()



यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै प्रविधिका नयाँ आकर्षणसमेत समेटिने भएका छन्। दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ २ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। यस्तै, ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र सामग्रीलाई विशेष प्राथमिकता दिइनेछ।
करिब ३ लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल र ३० ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्। पार्टपुर्जा, टायर तथा ब्याट्रीका लागि ७० स्टल र वित्तीय तथा बीमा कम्पनीका लागि १० स्टल रहनेछन्।


एचपी लुब्रिकेन्ट्सको शीर्ष प्रायोजनमा हुने अटो शोको आधिकारिक टिकटिङ पार्टनर ‘खल्ती’ रहेको छ। खल्तीमार्फत अग्रिम टिकट बुकिङ गर्दा दर्शकले ५० प्रतिशतसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा आउने दर्शकका लागि नेपाल पुलिस क्लब र नेशनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था गरिएको छ। पार्किङस्थलबाट भृकुटीमण्डपसम्म विशेष सटल बस सेवा सञ्चालन गरिनेछ।
आयोजकले प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, अपाङ्गतामैत्री व्हीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्कको व्यवस्था गर्ने जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यस वर्षको अटो शो विगतभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र नेपालको औद्योगिक विकास तथा अटोमोबाइल क्षेत्रको सम्भावना झल्काउने किसिमले आयोजना गरिने बताएका छन्।














