तामाङ मिडिया अवार्ड–२०८३ बाट जगत दोङ र जमुना थिङ सम्मानित – Sagarmathapana:: Online News Portal

तामाङ मिडिया अवार्ड–२०८३ बाट जगत दोङ र जमुना थिङ सम्मानित

   २०८३ भाद्र २ गते  


काठमाडौं।३२औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित ‘तामाङ मिडिया अवार्ड–२०८३’ बाट सञ्चारकर्मी जगत दोङ (काभ्रे) र जमुना थिङ (मकवानपुर) सम्मानित भएका छन्।

तामाङ पत्रकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा तामाङ समुदाय र सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दोङ र थिङलाई अवार्ड प्रदान गरिएको हो।

कार्यक्रम तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय सांसद परशुराम तामाङ, विशेष अतिथिका रूपमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश तामाङ तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा तामाङ सञ्चार, पत्रकारिता र समुदायका समसामयिक विषयमा प्यानल छलफल समेत गरिएको थियो। सहभागी वक्ताहरूले तामाङ भाषाको सञ्चार प्रवर्द्धन, पत्रकारिताको विकास र नयाँ पुस्तालाई सञ्चार क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए।

३२औँ तामाङ प्रसारण दिवस तथा तामाङ मिडिया अवार्ड कार्यक्रमले तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा सञ्चारमाध्यमको भूमिकालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै