म्यानपावर आन्दोलनले दैनिक ८ सय श्रमिकको वैदेशिक यात्रा प्रभावित हुने जोखिम – Sagarmathapana:: Online News Portal

म्यानपावर आन्दोलनले दैनिक ८ सय श्रमिकको वैदेशिक यात्रा प्रभावित हुने जोखिम

   २०८३ श्रावण ३० गते  

काठमाडौं।म्यानपावर व्यवसायीहरूले भदौ १ गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम रोक्ने घोषणा गरेसँगै विदेश जान तयारी अवस्थामा रहेका हजारौँ श्रमिक प्रभावित हुने जोखिम बढेको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ७ लाख ९२ हजार जनाले श्रम स्वीकृति लिएका थिए। त्यसमध्ये म्यानपावर कम्पनीमार्फत मात्रै २ लाख ६८ हजार ९९० जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ।

व्यवसायीहरूका अनुसार म्यानपावर कम्पनीमार्फत दैनिक औसत ७ सयदेखि ८ सय श्रमिक विदेश जाने गरेका छन्। आन्दोलनका कारण श्रमिक पठाउने प्रक्रिया रोकिए दैनिक ठूलो संख्यामा कामदारको वैदेशिक रोजगारी यात्रा प्रभावित हुन सक्ने देखिएको छ।

वैदेशिक रोजगारीका लागि कतिपय श्रमिकले चर्को ब्याजदरमा ऋण लिएका छन् भने भिसा, टिकट तथा अन्य प्रक्रियाका लागि रकमसमेत बुझाइसकेका छन्। यस्तो अवस्थामा श्रमिक पठाउने प्रक्रिया अवरुद्ध हुँदा उनीहरूको समय, लगानी र रोजगारीको अवसर जोखिममा पर्न सक्नेछ।

म्यानपावर व्यवसायीहरूको आन्दोलन लामो समयसम्म जारी रहेमा त्यसको असर श्रमिकमा मात्रै नभई वैदेशिक रोजगारीबाट मुलुकमा भित्रिने आम्दानी र समग्र अर्थतन्त्रमा समेत पर्न सक्ने सरोकारवालाहरूको भनाइ छ। आन्दोलनका कारण उत्पन्न समस्या समाधान गरी श्रमिकको वैदेशिक रोजगारी यात्रा प्रभावित हुन नदिन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै