आरोग्य पर्यटनसम्बन्धी तीनमहिने तालिमका लागि आवेदन खुला – Sagarmathapana:: Online News Portal

आरोग्य पर्यटनसम्बन्धी तीनमहिने तालिमका लागि आवेदन खुला

   २०८३ श्रावण ३० गते  

काठमाडौं।नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (NATHM) ले आरोग्य पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीनमहिने व्यावसायिक तालिम सञ्चालन गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सञ्चालन हुने तालिमअन्तर्गत योग आरोग्य पर्यटन तालिम (Yoga Wellness Tourism Training) र ध्यान तथा आध्यात्मिक पर्यटन तालिम (Meditation & Spiritual Tourism Training) सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।

दुवै तालिमका लागि न्यूनतम योग्यता एसईई वा सोसरह उत्तीर्ण भई नेपाली वा अंग्रेजी भाषामा आधारभूत सञ्चार क्षमता भएको हुनुपर्नेछ। साथै आरोग्य पर्यटन, योग पर्यटन, आयुर्वेद वा रिसोर्ट सञ्चालन क्षेत्रमा रुचि भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।

प्रत्येक तालिमको अवधि तीन महिना रहनेछ भने ४४/४४ जना प्रशिक्षार्थी सहभागी गराइनेछ। तालिम शुल्क रु. ४५ हजार तोकिएको छ, जसमा प्रयोगात्मक कक्षा तथा फिल्ड भिजिटसमेत समावेश गरिएको छ।

इच्छुकले २०८३ भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनपछि २०८३ भदौ २४ गते दिउँसो २ बजेसम्म सम्पर्क गर्नुपर्नेछ। छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने र तालिम भदौ ३० गतेदेखि सुरु हुने प्रतिष्ठानले जनाएको छ।

आवेदन फारामसँग हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। प्रत्येक तालिमका लागि रु. १ हजार आवेदन दस्तुर तोकिएको छ।

इच्छुकले NATHM को वेबसाइटबाट आवेदन फाराम डाउनलोड गरी प्रक्रिया पूरा गर्न सक्नेछन्। प्रतिष्ठानका अनुसार न्यूनतम १५ जना आवेदक पुगेमा मात्र सम्बन्धित तालिम सञ्चालन गरिनेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै