नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता

   २०८३ श्रावण २२ गते  

काठमाडौं।नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा युवा पर्यटन व्यवसायी रमेश घिमिरेले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

साउन २९ गते हुने नाट्टा निर्वाचनमा जिस्वान तुलाधर नेतृत्वको समूहबाट सचिव पदका उम्मेदवार बनेका घिमिरेले नाट्टालाई समावेशी, पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सदस्य कम्पनीहरूको हकहितको संरक्षण र पर्यटन व्यवसायीका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।

दुई दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय घिमिरेले आफ्नो अनुभवलाई संस्थागत सुधार, पर्यटन व्यवसायको विकास तथा नेपालको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने योजना रहेको उल्लेख गर्नुभयो।

खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–१४ का स्थायी बासिन्दा घिमिरे अध्ययनका लागि सन् २००६ मा काठमाडौं आउनुभएको थियो। अध्ययनसँगै पर्यटन क्षेत्रमा आबद्ध हुनुभएका उहाँले सन् २०१२ देखि ‘वेल नेपाल ट्राभल एण्ड ट्रेक्स’ सञ्चालन गर्दै आउनुभएको छ, जहाँबाट दर्जनौँ युवाले रोजगारी पाएका छन्।

ट्राभल व्यवसायसँगै उहाँले ठमेलस्थित ‘टेम्पल स्वीट काठमाडौं’ होटल तथा ‘टेम्पल हस्पिटालिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी’ समेत सञ्चालन गर्दै आउनुभएको छ। विश्वका ६० भन्दा बढी देशको भ्रमण गरिसक्नुभएका घिमिरेले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट प्राप्त अनुभवलाई नेपालको पर्यटन विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै