नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौं।नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई चार वर्षका लागि निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
मुख्यसचिव गोबिन्दबहादुर कार्कीका अनुसार साह यसअघि निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत गरेको छनोट प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारमध्ये परेका थिए।



कार्यकारी निर्देशक पदका लागि कौशल केसी र संजीवकुमार देवसँग प्रतिस्पर्धा गरेका साह अन्ततः मन्त्रिपरिषद्को निर्णयबाट निगमको नेतृत्वमा नियुक्त भएका हुन्। नयाँ नेतृत्वसँगै निगमको सेवा प्रवाह, इन्धन आपूर्ति व्यवस्थापन र संस्थागत सुधारले थप गति लिने अपेक्षा गरिएको छ।













